क्यानडा । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित टम्बलर रिज सहरमा रहेको एक माध्यमिक विद्यालय र नजिकैको आवासीय क्षेत्रमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको छ। दशकौँयताकै घातक मानिएको यस घटनाले शान्त मानिने उक्त सहरलाई स्तब्ध बनाएको छ।
मंगलबार दिउँसो टम्बलर रिज सेकेन्डरी स्कुलमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का अनुसार घटनास्थलमै छ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए।
अस्पताल लैजाँदै गर्दा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। संदिग्ध आक्रमणकारी पनि मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन्।
विद्यालयमा भएको घटनापछि प्रहरीले सोही घटनासँग सम्बन्धित मानिएको एक घरमा थप दुई जनालाई मृत फेला पारेको थियो। यससँगै मृतकको संख्या नौ पुगेको छ। गम्भीर अवस्थामा रहेका दुई जनालाई हेलिकप्टरमार्फत अस्पताल पठाइएको छ भने अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ।
करिब २,४०० जनसंख्या रहेको पहाडी सहरमा भएको घटनापछि प्रहरीले थप घरहरूको खानतलासी गरिरहेको छ। हाल सर्वसाधारणका लागि कुनै खतरा नरहेको प्रहरीले स्पष्ट पारेको छ। यसअघि जारी गरिएको ‘घरभित्रै सुरक्षित बस्न’ दिइएको आदेश साँझतिर हटाइएको थियो। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै उक्त क्षेत्रका विद्यालयहरू साताभरका लागि बन्द गरिएको छ।
क्यानडामा अमेरिकाको तुलनामा कडा बन्दुक नियन्त्रण कानुन रहेका कारण यस्ता सामूहिक गोलीकाण्डका घटना दुर्लभ मानिन्छन्। तथ्याङ्कअनुसार अमेरिकामा प्रति सय बासिन्दा १२१ वटा हतियार रहेका छन् भने क्यानडामा यो दर ३५ मात्र छ।
यस घटनाले क्यानडाली समाज र सुरक्षा संयन्त्रलाई गम्भीर प्रश्नको घेरामा उभ्याएको छ। प्रहरीले आक्रमणको उद्देश्य र कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
संवाददाता










