अन्टारियो। क्यानाडामा नयाँ आप्रवासीहरु स्थायी बासिन्दा बन्ने क्रम फेरि बढेको छ। गत मार्च महिनामा क्यानाडा आउनेहरुको संख्या घटेको थियो। अप्रिलमा भने फेरि बढेको छ। इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानाडा (आइआरसीसी) का अनुसार यो वर्षको चौथो महिनामा ४२ हजार ५४५ क्यानाडाको नयाँ स्थायी बासिन्दा बनेका छन्।
जनवरीमा ४७ हजार ७५५ जना नयाँ स्थायी बासिन्दा बनेका थिए भने फेब्रुअरीमा ३९ हजार १०० र मार्चमा ३४ हजार ८६० जना स्थायी बासिन्दा बनेका थिए।
गत वर्ष जनवरीमा ५० हजार ९५४ नयाँ स्थायी बासिन्दा बनेको तथ्यांक छ। त्यसपछिका तीन महिना नयाँ आप्रवासीको संख्या घटेको थियो। २०२३ अप्रिलमा २९ हजार ५६५ जना नयाँ स्थायी बासिन्दा बनेका थिए।
यो वर्षको अप्रिलमा वृद्धि भए पनि वर्षका सुरु तीन महिनामा आप्रवासको अवस्था ६.२ प्रतिशतभन्दा तल थियो। समग्रमा चार महिनाको अवधिमा १ लाख ६४ हजार २६५ नयाँ आप्रवासी क्यानाडा आएका थिए।
२०२३ को त्यही अवधिमा क्यानाडामा १ लाख ७५ हजार ६० जना नयाँ स्थायी बासिन्दा बनेको तथ्यांक छ।
२०२३ मा क्यानाडाको बासिन्दा बन्ने शीर्ष १० देशका आप्रवासी (सूची)
यस वर्षको पहिलो चार महिनाको अवस्था हेर्दा बाँकी महिनासहित वर्षभर क्यानाडामा ४ लाख ९२ हजार ७९५ नयाँ स्थायी बासिन्दा बन्ने अनुमान छ। यो गत वर्षको भन्दा बढी हुनेछ। गत वर्ष ४ लाख ७१ हजार ८१० जना नयाँ स्थायी बासिन्दा बनेका थिए।
क्यानाडाले यो वर्ष ४ लाख ८५ हजार नयाँ स्थायी बासिन्दाहरुलाई स्वागत गर्ने लक्ष्य लिएको थियो। अध्यागमन लक्ष्यअनुसार २०२५ मा ५ लाख र त्यसपछि २०२६ मा पनि त्यति नै नयाँ आप्रवासी थप हुने भनिएको छ।
जनसंख्याका हिसाबले क्यानाडाको सबैभन्दा ठूलो प्रान्त अन्टारियो यो वर्षको हालसम्म नवागन्तुकका लागि सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ। यो वर्षको चार महिनामा अन्टारियोमा मात्रै ७० हजार २५० जना नयाँ स्थायी बासिन्दा बनेका छन्।
५० वर्षमा क्यानाडाको जनसंख्या ६ करोड ३० लाख पुग्ने
उक्त अवधिमा न्युफाउल्याण्ड एण्ड लाब्राडोरमा १ हजार ९२०, प्रिन्स एडवर्ड आइल्याण्डमा १ हजार ९३०, नोभा स्कोसियामा ५ हजार ५४५, क्युबेकमा १८ हजार ४००, मनिटोबामा ८ हजार ५५ जना आप्रवासी थपिएका छन्।
यसैगरी, सास्काचेवानमा ७ हजार ९१०, अल्बर्टामा २१ हजार ७०, ब्रिटिश कोलम्बियामा २३ हजार १५५, युकोनमा ३७०, नर्थवेस्ट टेरिटरिजमा १५० र नुनाभुटमा २० जना थपिएको तथ्यांक आइआरसीसीको छ।
संवाददाता










