
काठमाडौं : नेपाल पौडी संघले यही असार २२ र २३ गते आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको तयारी पूरा भएको छ । आयोजक नेपाल पौडी संघका सचिव गंगालाल गोलेका अनुसार प्रतियोगितामा ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगितामा विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विधाहरुमा खेलाइनेछ । उक्त पौडी प्रतियोगितामा ८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी हुनेछन् ।
संघले खेलाडीहरुको सहजताको लागि डिजिटल रजिष्ट्रेसनको व्यवस्था गरिएसंगै विगतको प्रतियोगितामा भन्दा यो प्रतियोगितामा उलेख्य खेलाडीहरुको सहभागिता रहेको संघले जनाएको छ । संघको गत वैशाख ८ गते सम्पन्न अधिवेशन पश्चात निर्वाचित नयाँ कार्य समितिले आयोजना गर्न लागेको यो पहिलो प्रतियोगिता हो । यस प्रतियोगितामा खेलाडीको उत्साहजनक सहभागिताले नेपालमा पौडी खेलाडीहरुको आकर्षणको केन्द्र मात्र हैन संघलाई यसको विकास र विस्तारमा थप जिम्मेवार पनि बनाएको संघका अध्यक्ष जगतमान श्रेष्ठले बताए ।