
टोरोन्टो । क्यानडा सरकारले विदेशी विद्यार्थीसँग विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । सरकारले विदेशी विद्यार्थीहरूलाई इमेल पठाएर विभिन्न कागजातहरू पेश गर्न भनेको हो ।
त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै इमेल पठाएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार क्यानडाको इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग (आईआरसीसी) ले विदेशी विद्यार्थीहरूलाई इमेल पठाउन थालेको छ । तीमध्ये धेरै विद्यार्थीको भिसा दुई वर्षसम्म मात्र मान्य छ। क्यानडा सरकारले विदेशी विद्यार्थीहरूका लागि एकपछि अर्को नियमहरू कडा पार्दै गएको सन्दर्भमा इमेल पठाएर कागजात मागेको हो ।
क्यानडाको ब्रिटिश कोलम्बियामा अध्ययनरत एक विद्यार्थीले मे २०२६ सम्मको भिसा रहे पनि सबै कागजात पुनः पेश गर्न भनिएको भन्दै गुनासो गरेका छन् । उनका अनुसार आईआरसीसीले विद्यार्थीसँग हाजिरीको विवरण र पार्ट–टाइम कामका बारेमा पनि जानकारी मागेको छ ।
एमएसएनका अनुसार धेरै विद्यार्थीहरूले आईआरसीसीलाई स्पष्ट सूचना दिन र विद्यार्थीका चिन्ता सम्बोधन गर्न माग गरेका छन् ।
समस्याबाट जोगिन कागजातहरू तत्काल पेश गर्न सल्लाह
शैक्षिक परामर्शदाताहरूले भने विद्यार्थीहरूलाई सम्भावित समस्याहरूबाट जोगिन आफ्ना कागजातहरू तत्काल पेश गर्न सल्लाह दिएका छन् ।
टोरन्टोस्थित आप्रवासन सल्लाहकार मेहबूब रजवानीका अनुसार विद्यार्थीहरूलाई फिल्टर गर्न यो कदम उठाइएको हुन सक्छ । धेरै विद्यार्थीहरूले आफ्नो तोकिएको शिक्षण संस्था (डीएलआई) परिवर्तन गरी हाजिरीमा कुनै कडाइ नहुने शैक्षिक संस्थाहरूमा जान्छन् ताकि क्यानडा धेरै बस्न सकियोस् ।
रजवानीका अनुसार यसलाई रोक्न क्यानडेली सरकारले थप आर्थिक मापदण्ड र अन्य सीमाहरू निर्धारण गर्ने गरेको छ ।
विज्ञहरूका अनुसार यो निर्णय क्यानडाको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या घटाउने रणनीतिको हिस्सा हो । साथै, कति विद्यार्थी अध्ययन भिसामा आएर काम गर्न थालेका छन् भन्ने जानकारी राख्नु पनि सरकारको उद्देश्य हो ।
पछिल्ला केही वर्षहरूमा क्यानडामा विदेशी विद्यार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।