टोरन्टो (क्यानडा) ।नेपाली जनसम्पर्क समिति क्यानडाको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्कीको प्रमुख आतिथ्यता र नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति केशवप्रसाद दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो । केन्द्रीय सदस्य कार्कीले समितिका सभापति, पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै प्रमाणपत्र हस्तान्तरण गरी आज शनिबार कार्यसमितिलाई पदस्थापन गराउनुभएको छ । नवनिर्वाचित समितिको अधिवेशन गत १९ सेम्टेम्बर २०२६ मा क्यानडाको स्कारब्रोमा सम्पन्न भएको थियो ।
ओन्टारियोको मिसिसागास्थित एभरेष्ट रियालिटी ब्रोकेजको हलमा आयोजना गरिएको कार्यक्रममा जनसम्पर्क समितिमा आबद्द ५ दर्जन भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सदस्यहरुले नेपाली जनसम्पर्क समितिका नाममा खुलेका विभिन्न समितिहरुको वैधता, समितिमा आस्था राख्ने सदस्यहरुबीचको भावनात्मक एकता र नेपाली कांग्रेस केन्द्रीय समितिले जनसम्पर्क समितिलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा चासो राखेका थिए ।
प्रमुख अतिथि कार्कीले सदस्यहरुको सबैखाले जिज्ञासाको कदर गर्दै नेपाली कांग्रेस यतिबेला पुस्ता परिवर्तन र बदलिँदो राजनीतिक परिवेशमा नयाँ ढंगले अघि बढिरहेको बताउँदै सबै पक्षसँग सहकार्य, सम्वाद र एकताका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो । क्यानडामा नेपाली जनसम्पर्क समितिको नेतृत्व सामाजिक तथा बौद्दिक क्षेत्रका अब्बल व्यक्ति केशवले दाहालले गरिरहेको सन्दर्भमा सबैखाले समूह र विचारपक्षसँग सम्वाद गरी अघि सजिलै अघि बढ्ने परिस्थिति रहेको विश्वास प्रमुख अतिथि कार्कीले व्यक्त गर्नुभएको थियो ।
सभापति दाहालले आफ्नो कार्यकालमा जनसम्पर्क समितिलाई सबैको सम्मानजनक साझा थलोको रुपमा स्थापित गर्ने प्रतिबद्दता व्यक्त गर्नुभएको थियो । समितिका महामन्त्री कुशल घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रम शुभकामना आदानप्रदान, फोटोसेसन र लन्चटुगेदरसहित सम्पन्न भएको थियो ।
क्यानाडा नेपाल










