Canada Nepal News

काठमाडौं – बागमती नदी किनारस्थित थापाथली क्षेत्रमा रहेको सुकुमवासी बस्तीमा सार्वजनिक जग्गा तथा नदी कोरिडोर अतिक्रमण हटाउने अभियानअन्तर्गत शनिबार डोजर प्रयोग गरी संरचना हटाउने काम सुरु गरिएको छ। अनधिकृत रूपमा बनाइएका घरटहराहरू हटाउने क्रममा सम्भावित तनावलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यसपटकको कारबाही अघिल्ला घटनाहरूको तुलनामा शान्त वातावरणमा भइरहेको देखिएको छ।
कारबाहीका क्रममा नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासी परिवारका सामानहरू सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका छन्।
यसअघि सोही क्षेत्रमा डोजर चलाउने प्रयास गर्दा स्थानीयवासी र सुरक्षाकर्मीबीच ढुंगामुढा र झडप भएको थियो। तर यस पटक प्रशासनले सहयोगात्मक र व्यवस्थित ढंगले बस्ती खाली गराउने रणनीति अपनाएको देखिएको छ।