टोरन्टो, क्यानडा। विदेशमा नेपाली भाषा, संस्कृति, पहिचान र सामुदायिक एकतालाई संरक्षण गर्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली समुदायका लागि स्थायी साझा भवन निर्माण गर्ने उद्देश्यसहित महत्वपूर्ण अभियान अगाडि बढाएको छ।
क्यानडामा रहेका नेपालीहरूको साझा आवश्यकता र भावनालाई सम्बोधन गर्ने लक्ष्यसहित एनआरएनए क्यानडाले सामुदायिक भवन खरिद गर्ने सम्झौता प्रक्रिया अगाडि बढाएको हो। संघले सार्वजनिक गरेको विवरणअनुसार भवन खरिद तथा क्लोजिङ खर्चका लागि करिब ६ लाख क्यानेडियन डलर आवश्यक पर्नेछ।
एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटाको नेतृत्वमा अगाडि बढाइएको यस अभियानको मुख्य उद्देश्य बैंकको ऋण (Mortgage-Free) बिना नेपाली समुदायको आफ्नै भवन स्थापना गर्नु रहेको छ।
अध्यक्ष सापकोटाले यस अभियानलाई कुनै व्यक्ति वा संस्थाको मात्र नभई क्यानडामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको साझा सपना र सामूहिक अभियानका रूपमा अगाडि बढाइएको बताउनुभएको छ। उहाँले सबैको साथ, सहयोग र सहभागिताबाट मात्र यो अभियान सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
कस्तो हुनेछ नेपाली समुदायको आफ्नै भवन ?
एनआरएनए क्यानडाले सार्वजनिक गरेको भवनसम्बन्धी विवरणअनुसार उक्त स्थान नेपाली समुदायका विभिन्न गतिविधि सञ्चालन गर्न उपयोगी हुनेछ।
भवनमा करिब ६० देखि ७० जनासम्म अट्ने बैठक तथा सभा हल, एउटा रिसेप्सन कक्ष, चारवटा छुट्टाछुट्टै कार्यालय कोठा र दुईवटा शौचालय रहनेछन्।
भुइँतलामा रहेको भवनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज पहुँचको व्यवस्था पनि रहेको छ। नेपाली संघसंस्थाका बैठक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम, सामुदायिक भेला तथा नेपाल सरकारका मोबाइल कन्सुलर सेवा सञ्चालनका लागि समेत भवन उपयोगी हुने अपेक्षा गरिएको छ।
टोरन्टो, स्कारबोरो, मिसिसागा, ब्राम्पटनलगायत ग्रेटर टोरन्टो क्षेत्रका नेपाली समुदायलाई सहज हुने केन्द्रीय स्थानमा भवन रहेको र पर्याप्त पार्किङ सुविधा उपलब्ध रहेको फ्लायरमा उल्लेख छ।
सहयोगीहरूलाई विशेष सम्मान गरिने
यस अभियानलाई सफल बनाउन एनआरएनए क्यानडाले विभिन्न सहयोग श्रेणी सार्वजनिक गरेको छ। इच्छुक व्यक्ति, व्यवसायी, सामाजिक अभियन्ता, बुद्धिजीवी, पेसाकर्मी तथा संघसंस्थाले आफ्नो क्षमता र इच्छाअनुसार आर्थिक सहयोग गर्न सक्नेछन्।
सहयोगदाताहरूको नाम र सहयोग रकम भवनमा स्थापना गरिने विशेष ‘Donation Wall’ अर्थात् सहयोगदाता सम्मान भित्तोमा राखिने संघले जनाएको छ।
सहयोगका लागि एनआरएनए क्यानडाको अपिल
संघले क्यानडाभर रहेका सम्पूर्ण नेपाली समुदायलाई यस अभियानमा सहभागी हुन आग्रह गरेको छ।
आर्थिक सहयोग e-Transfer मार्फत निम्न इमेलमा पठाउन सकिनेछ।
Email: [email protected]
भावी पुस्ताका लागि साझा सम्पत्ति
विदेशमा नेपाली समुदायको आफ्नै भवन हुनु भनेको केवल एउटा भौतिक संरचना प्राप्त गर्नु मात्र होइन। यो नेपालीहरूको पहिचान, एकता, संस्कृति, भाषा र सामाजिक सम्बन्धलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने महत्वपूर्ण आधार पनि हो।
एनआरएनए क्यानडाको यो अभियान सफल भएमा क्यानडामा नेपाली समुदायको संस्थागत विकास र सामाजिक एकताको क्षेत्रमा महत्वपूर्ण उपलब्धि बन्न सक्नेछ।
अब यो अभियानलाई सफल बनाउने जिम्मेवारी सम्पूर्ण नेपाली समुदायको सामूहिक हातमा छ। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका लागि एकजुट हुन सके क्यानडामा नेपालीहरूको आफ्नै स्थायी घर बनाउने सपना अवश्य साकार हुन सक्छ। हाम्रो भवन, हाम्रो पहिचान, हाम्रो गौरव!
क्यानाडा नेपाल









