हामी फेरि आएका छौं !!!
सात समुन्द्र पारी प्रवासमा रहेर पनि केहि गरौं भन्ने हुटहुटीले छाडेन । त्यसकै फलस्वरूप canadanepalnews.com मार्फत तपाईंहरु सम्पुर्णमा फेरि एक पटक जोडीने जमर्को गरेको छु ।
हुनत यस अगाडी पनि हामीले 2018 बाट सञ्चालन गरेको कालिका दैनिक डट्कम र कान्तिपथ अनलाइन डट्कम लाई यहाँहरुको माया, सद्भभाव, हौसला र सहयोगले चितवन र काठमाडौंलाई बेस बनाएर सत्य, तथ्य र निष्पक्ष समाचार दिन कहिलैपनि चुकेनौ र चुक्नेपनि छैनौं ।
विशेषगरि यो छोटो समयको क्यानडा बसाईले मातृभुमी नेपाल र कर्मभुमीलाई जोडेर आँफू र आफ्नो टिमले केही समाचार योग्य विषयलाई नेपाली र अंग्रेजीमा पस्कने जमर्को गरेका छौँ । अबस्य पनि देश तथा बिदेशमा रहनु हुने यहाँहरुले हामीलाई सकारात्मक सल्लाह, सुझाव, हौसला र माया दिनुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।
जीवनको उर्जावान २५ बसन्तहरु यही क्षेत्रमा बिताउने क्रममा धेरै हन्डर- ठक्कर, धाक-धम्की, कुटाई-पिटाई, हिरासत जे-जे भोग्नुपरे पनि र आश्वासन र प्रलोभनका अफर आउँदा पनि कहिलै पत्रकारिताको धर्मलाई बेचेर खाईएन र खाने पनि छैनौ ।
रत्ननगर साप्ताहिक, बर्गीकृृृत दैनिक, रेडियो चितवन, कान्तिपुर पब्लिकेसन्स, अन्नपूर्ण मिडिया, दैनिक नेपाल डट्कम, मेरो जिल्ला डट्कम, कालिका एफएम, नारायणी अनलाइन, ईनेप्लीज डटकम, श्रीनगर एफएम, बिजय एफएम, पारदर्शी दैनिक, रेडियो नेपाल, कालिका दैनिक, कान्तिपथ अनलाइन हरुमा काम गर्दा र समाचार लेख्दाका अनुभव तथा अनुभुती पक्कै पनि मेरालागि सम्झन योग्य छन ।
सिमित श्रोत र साधनका बीच कलम र डायरी बोकेर सत्य, तथ्य र निष्पक्ष समाचार प्रेषित गर्नेक्रममा कयौं पटक भोकै त कयौं रात अनिदो सुतेको, खोला तर्दा र पहाड उक्लदाका सस्मरण कुनै दिन लेखौला ।
नेपाल पत्रकार महासंघ चितवन शाखा, बागमती प्रदेश, केन्द्रीय कार्यालय तथा समितिहरु, पत्रकार संग सम्बद्ध दर्जनौं संघ-संगठनहरु र सयौं पत्रकार साथीभाई र आफन्तजनहरु पनि मेरो लागि सधैं आड र भरोसा दिन युद्धमा होमिएको सिपाहीको ढाल झैं बनेर सधैं उभिए ।
विभिन्न आन्दोलन, जुलुस, धर्ना र घटना- दुर्घटनामा खाएको लाठी, अश्रुग्यास र धरपकड पनि सम्झनायोग्य छन । गरेका निर्णय र समाचारको श्रोत लुकाएर मनोमानी गर्ने विभिन्न पदिय हैसियतमा रहेका ब्यक्ति र सस्थासंग सूचना लिनको लागि राष्ट्रिय सूचना आयोग, महालेखा परीक्षकको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रसाशन आदि ठाउँमा पुग्दा र सूचना लिंदाको अनुभव पनि सम्झना योग्य छन ।
क्यानडाको यो छोटो समयको बसाईका क्रममा सबैलाई सम्पर्क गर्न नसकेपनि लामो सम्झना चाँही रहेको अबस्य छ ।
“नेपालीका लागि नेपाली” र “जहाँ पनि नेपाली जहिले पनि नेपाली” भन्ने मुल मर्मका साथमा हाम्रो टिमको यो नयाँ प्रयास canadanepalnews.com नामको यो सुचना पाटी तपाईंको सकारात्मक सल्लाह, सुझाव, हौसला र मायाको अपेक्षा सहित सोही आधारमा हामी अगाडी बढ्ने छौं । धन्यवाद ।।
शिशिर सिंखडा
(प्रधान सम्पादक)