Canada Nepal News

काठमाडौं । सौरमास अनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ। साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन्। साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ।

यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ। सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। साउने झरी भए पनि बिहानै दर्शनार्थी पशुपति क्षेत्र पुगेका थिए। आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ।

उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।