काठमाडौं। दशैंको मुखमा त्रिशूली नदीको कटानले पृथ्वी राजमार्गको गलौंदी क्षेत्रमा सडक भासिएपछि यातायात ठप्प भएको छ भने काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रु बाटोमै अलपत्र परेका छन्।
भोटेकोसी नदीमा गत भदौ १० गते बाढी आउँदा रसुवादेखि चितवनसम्म नै क्षति पुगेको थियो। भोटेकोसी बाढी त्रिशूली नदीमा मिसिँदा नुवाकोटदेखि धादिङसम्मको सडक र पुलहरू बगेका थिए।
बाढीको कटानकै कारण संघीय राजधानी जोड्ने लाइफलाइन सडक पृथ्वी राजमार्गको ठाउँ-ठाउँमा पहिरो खसेको थियो। पृथ्वी राजमार्गअन्तर्गत पर्ने कृष्णभीरको सडक गत भदौ १४ गते त्रिशूलीको कटानले बगेको थियो। नदी कटानले बगाएको सडकमाथिबाट डाइभर्सन बनाएपछि १८ दिनपछि सुचारु भएको थियो।
कृष्णभीरबाहेक सिमलताल, गल्छिलगायतका क्षेत्रमा पनि सडक भासिएर एकतर्फी सञ्चालन हुँदै आएको थियो। शुक्रबार धादिङको गजुरी गाउँपालिका-५ गलौदी क्षेत्रमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएर समस्या उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले आज साँझदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सम्पूर्ण सवारीसाधनको आवागमन रोकेको छ। धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सडकमा जोखिम बढेपछि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको बताए।
लामो समयको अवरोधपछि सञ्चालनमा आएको पृथ्वी राजमार्ग फेरि बन्द हुँदा दशैँको मुखमा काठमाडौँबाट बाहिरिने र राजधानी भित्रिने यात्रुलाई सास्ती हुने देखिएको छ। दशैँ मनाउन घर फर्किने यात्रुको चाप बढ्ने समयमा राजमार्ग नै बन्द भएपछि यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने जोखिम बढेको छ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सडकको पूरै भागमा धाँजा फाटिएको छ। छेउको भागदेखि भित्ताको नालीसम्म नै धाँजा फाटेर पहिरो जाने अवस्थामा रहेको उनले बताए।
जोखिम न्यूनीकरणका लागि प्रहरीले सडक पूर्णरुपमा बन्द गरेर रातो रिवन टाँगेको पौडेलले बताए। सडक पूर्ण रुपमा क्षति हुने अवस्थामा पुगेका कारण तत्कालको अवस्थामा मर्मत गरेर पनि सवारी चलाउन नसकिने देखिएको उनको भनाइ छ।
पृथ्वी राजमार्ग काठमाडौँलाई धादिङ, चितवनलगायत देशका विभिन्न जिल्ला र पश्चिम नेपालसँग जोड्ने प्रमुख सडक हो। यो सडकमा हुने अवरोधले यात्रु आवागमन मात्रै नभई मालसामान ढुवानी तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पार्ने देखिन्छ।
क्यानाडा नेपाल










