Canada Nepal News

काठमाडौँ । चालु आर्थिक बर्षको दुई महिनामा एक लाख १५ हजार ६ सय ७२ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५७ हजार चारसय ९३ जना युवाले श्रमस्वीकृति लिएर ९५ देश पुगेका छन् । श्रमस्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ र ३६ प्रतिशत बिदामा आएर पुनः जाने गरेको विभागको तथ्यांक छ।
यो गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी भएको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ६ हजार ४ सय ५९ श्रम स्वीकृति लिएर विदेशीएका थिए ।
गत बर्ष मात्रै विद्यार्थी भिसा, भिजिट भिसा, रोजगारी लगायत पिआर, ग्रीन कार्ड र सिटिजन लिएर २० लाख भन्दा बढीले देश छाडेका थिए । पछिल्लो ३ वर्षमा २२ लाख ५४ हजार युवा रोजगारीको खोजीमा ९५ देश पुगेको विभागको तथ्यांकमा छ। वार्षिक ७ लाख १४ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार दुई बर्षयता विकासित र युरोपका देश जाने कामदारको संख्या पनि बढ्दो छ।
श्रमस्वीकृति सेवा पूर्ण अनलाइन, श्रमिकमैत्री कानुन परिमार्जन र रोजगारदाता देशमा श्रमिक अभावका कारण विदेशीनेको संख्या बढेको उनको भनाइ छ ।
पछिल्लो समय करार अवधि सकिएर आएका कामदार पुनः वैदेशिक रोजगारीमा जाने क्रम बढेको र व्यक्तिगत भिसामा जाने कामदारको संख्या बढेको विभागले जनाएको छ ।गत आ.व.मा रोजगारी खोज्दै ७ लाख ४१ हजार र अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएको विभागका तथ्यांकमा छ ।