Canada Nepal News

मौसम खुलेपछि पर्यटकीय राजधानी पोखराबाट बिहान देखिएको माछापुच्छ्रे र हिमशृंखला ।

पोखरा। मोनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ। तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ।

होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको बताउँछन्। सेप्टेम्बरमा ४० प्रतिशत ‘बुकिङ’ रद्द भएको उनले सुनाए।

सुवेदीका अनुसार अहिलेसम्मको प्रारम्भिक अनुमानले पोखराका ठूला छ वटा होटलसहित मध्यम र सानास्तरका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी तथा पर्यटनसँग प्रत्यक्षअप्रत्यक्ष रूपमा जोडिएका व्यवसायमा पनि सामान्यदेखि असर परेको छ। करिब रु साढे दुई अर्ब बराबरको क्षति भएको छ। पोखराको पर्यटन क्षेत्रमा रु आठ खर्ब बराबरको लगानी भएको छ। करिब १५ हजारले रोजगारी पाएका छन्।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले बताए। उनले भने, ‘अहिलेको घटनाले अन्तर्राष्ट्रियस्तरमा नै नकारात्मक सन्देश पुगेको छ तर नेपालको पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्ड र सरोकार भएका अन्य निकायको भूमिका महत्वपूर्ण हुन्छ।’

यसैबीच, नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि ‘आइ एम इन नेपाल नाउ’ ‘ह्यासट्याग’ अभियान सुरु गरेको छ। बोर्डले ‘रियल–टाइम स्टोरी’हरू उत्पादन गरेर सामाजिक सञ्जालमार्फत नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाहको प्रयासलाई निरन्तरता दिएको छ।