टोरण्टो । प्रवासी नेपाली समुदायको साझा पहिचान, सांस्कृतिक गौरव र सामाजिक उत्तरदायित्वलाई नयाँ उचाइमा पुर्याउँदै क्यानण्डामा तेश्रो नेपाल फेस्टिभल २०२६ भव्य रूपमा सम्पन्न भएको छ। करिब १० हजारभन्दा बढी दर्शकहरुको सहभागिता रहेको उक्त मेलाले नेपाली समुदायको एकता, सांस्कृतिक शक्ति, आर्थिक आत्मनिर्भरता र संस्थागत पारदर्शिताको सशक्त उदाहरण प्रस्तुत गरेको आयोजकले जनाएका छन।
कार्यक्रममा नेपालका चर्चित गायक खेम सेन्चुरी लगायतका लोकप्रिय कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति, विविध जातीय समुदायका सांस्कृतिक झाँकी, लोक तथा आधुनिक प्रस्तुति, नेपाली मौलिक परम्पराको जीवन्त प्रदर्शन तथा परिवारमैत्री वातावरणले महोत्सवलाई स्मरणीय बनाएको थियो।
ब्राम्पटन शहरमा गत जुलाई २५ अर्थात साउन ९ गते शनिबार भएको कार्यक्रममा ओन्टारियो सरकारका मन्त्री, संघीय सांसदहरू, ब्र्याम्पटनका मेयर तथा विभिन्न तहका जनप्रतिनिधिहरू, विभिन्न सामुदायिक संस्थाका प्रतिनिधि, व्यवसायी, सामाजिक अभियन्ता तथा गैरआवासीय नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अतिथि वक्ताहरूले नेपाल फेस्टिवललाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा नभई बहुसांस्कृतिक सहअस्तित्व, सामुदायिक नेतृत्व, आर्थिक सहकार्य र नयाँ पुस्तालाई नेपाली पहिचानसँग जोड्ने प्रभावकारी अभियानका रूपमा व्याख्या गरेका थिए।
कार्यक्रमको आर्थिक पक्षसमेत सन्तोषजनक र व्यवस्थित रहेको लालिगुराँस स्पोर्ट्स एण्ड कल्चर क्लबका कोषाध्यक्ष अनिल ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार विभिन्न शीर्षक अन्तर्गत प्रायोजकहरूबाट ३२ हजार ५ सय ९२ डलर, फुड भेन्डरबाट ११हजार ७ सय डलर, व्यवसायिक स्टलबाट १३ हजार ७ सय ८० डलर तथा सामुदायिक सहयोगबाट ५ हजार ९ सय ५० डलर संकलन भई कुल ६४ हजार २२ क्यानेडियन डलर आम्दानी भएको छ।
त्यसैगरी कलाकार व्यवस्थापन, कार्यक्रम स्थल, स्टेज तथा साउण्ड, सजावट, बीमा, पोर्टेबल शौचालय, सरसफाइ, फोहोर व्यवस्थापन, यातायात, खानपान तथा अन्य प्रशासनिक शीर्षकमा कुल ४७ हजार ३ सय ९५ क्यानेडियन डलर खर्च भएको कोषाध्यक्ष ज्ञवालीले जानकारी दिए।क्लबका महासचिव धर्म न्यौपानेका अनुसार संस्थाले आफ्ना आजीवन सदस्यहरूको सूचनाको अधिकारलाई सम्मान गर्दै पूर्ण उत्तरदायित्व र पारदर्शिताको नीति अवलम्बन गरेको छ । साथै प्रायोजकहरूको गोपनीयतालाई समेत सम्मान गर्दै आम्दानी सम्बन्धी विस्तृत विवरण आवश्यक परे सम्बन्धित प्रायोजकको सहमति र संस्थागत प्रक्रिया अनुसार सस्थासँग सम्पर्क गरी जानकारी लिन सकिने व्यवस्था गरिएको उनले बताए।
यसैबीच, नेपाल फेस्टिभल २०२६ को सफलतामा योगदान पुर्याउने कलाकार, स्वयंसेवक, प्रायोजक, साझेदार संस्था तथा सम्पूर्ण सहयोगीहरूलाई सम्मान तथा समग्र कार्यक्रमको समीक्षा गर्न “रिभ्यु तथा टाउन हल एप्रिसिएसन कार्यक्रम” छिट्टै आयोजना गरिने तयारी भइरहेको क्लबका अध्यक्ष बिश्व (अनन्त) अधिकारीले जानकारी दिए।
अध्यक्ष अधिकारीका अनुसार क्लबले नेपाल फेस्टिभलका लागि मात्र वर्षमा एकपटक प्रायोजन संकलन गर्ने नीति अवलम्बन गरेको छ। वर्षभर सञ्चालन हुने किड्स सकर कार्यक्रम, रक्तदान, भलिबल प्रतियोगिता लगायतका अन्य सामाजिक तथा खेलकुद गतिविधिहरू भने वैकल्पिक स्रोत, साझेदारी र संस्थागत व्यवस्थापन मार्फत सञ्चालन गरिने उनले जानकारी दिए।
नेपाल फेस्टिभल २०२६ ले प्रवासमा नेपालीहरूको साझा पहिचानलाई मात्र सुदृढ नगरी सांस्कृतिक संरक्षण, आर्थिक उत्तरदायित्व, संस्थागत सुशासन, बहुसांस्कृतिक सहकार्य र सामुदायिक एकताको प्रभावशाली उदाहरण स्थापित गरेको आयोजकको भनाई छ।
आयोजकले महोत्सवलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण कलाकार, स्वयंसेवक, प्रायोजक, साझेदार संस्था, सञ्चारमाध्यम, सुरक्षाकर्मी तथा सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी कार्यक्रमहरू अझ प्रभावकारी बनाउन सबैबाट रचनात्मक सुझाव र समीक्षा उपलब्ध गराइदिन समेत अनुरोध गरेको छ।

क्यानाडा नेपाल










