×

टोरण्टो । नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसिसिएस) को आयोजनामा क्यानडाको टोरन्टोस्थित प्रतिष्ठित नाथन फिलिप्स स्क्वायरमा अगस्ट ८, शनिबार आयोजना हुने १८औँ हिमालयन मेला २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। कार्यक्रम दिउँसो १ देखि राति १० बजेसम्म सञ्चालन हुनेछ।

उत्तर अमेरिकाकै सबैभन्दा ठूलो नेपाली सांस्कृतिक उत्सवमध्ये एक मानिने हिमालयन मेलामा यस वर्ष हजारौँ दर्शकको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

मेलामा नेपालका चर्चित गायक प्रकाश सपूतको विशेष सांगीतिक प्रस्तुति रहनेछ भने क्यानडाभरिका विभिन्न नेपाली समुदायका कलाकारहरूले लोक, आधुनिक तथा मौलिक सांस्कृतिक नृत्य र सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।

यस वर्षको मेलामा नेपालका विभिन्न जातीय, भाषिक तथा सांस्कृतिक समुदायहरूको मौलिक पहिचान झल्किने प्रस्तुतिहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।

कार्यक्रम अन्तर्गत दिउँसो १ः३० बजे विभिन्न समुदाय, संस्था तथा सांस्कृतिक समूहहरूको सहभागितामा भव्य ‘कम्युनिटी परेड’ आयोजना गरिनेछ, जसले नेपालको विविधता, एकता र सांस्कृतिक गौरवलाई झल्काउनेछ।

त्यसपछि परम्परागत नृत्य, संगीत, सांस्कृतिक झाँकी, राष्ट्रिय पोशाक तथा कला-संस्कृतिको प्रदर्शन गरिनेछ। साथै, नेपाली हस्तकला, पर्यटन, स्थानीय व्यवसाय तथा समृद्ध सांस्कृतिक सम्पदाको प्रदर्शनीले मेलालाई अझ आकर्षक बनाउनेछ।

मेलामा करिब २० वटा खाद्य स्टल तथा ५० भन्दा बढी व्यावसायिक र सामुदायिक प्रदर्शनी स्टल रहनेछन्।

नेपाली परिकार, व्यवसाय, सेवा, पर्यटन तथा सांस्कृतिक सम्पदाको प्रवर्धन गर्दै नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले आयोजना हुने यो मेला सबैका लागि निःशुल्क खुला रहने आयोजकको भनाइ छ।

कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन सयौँ स्वयंसेवक, प्राविधिक टोली र सुरक्षा व्यवस्थापन समूहले अन्तिम तयारी पूरा गरिसकेको जनाएका छन्।एनसिसिएसका अध्यक्ष तथा हिमालयन मेलाका इभेन्ट कोअर्डिनेटर सुदर्शन सापकोटाले सम्पूर्ण नेपाली समुदाय तथा बहुसांस्कृतिक समाजका सबैलाई कार्यक्रममा सहभागी भई नेपाली भाषा, कला, संस्कृति र पहिचानको उत्सवलाई सफल बनाउन अनुरोध गरे।

‘१८औँ हिमालयन मेला केवल एउटा सांस्कृतिक कार्यक्रम मात्र नभई हाम्रो पहिचान, एकता र पुस्तौँदेखि बोकेर आएको नेपाली सम्पदालाई विश्वसामु गर्वका साथ प्रस्तुत गर्ने साझा उत्सव हो,’ सापकोटाले भने, ‘नाथन फिलिप्स स्क्वायरमा उपस्थित भई यस ऐतिहासिक उत्सवलाई सफल बनाउन सम्पूर्ण समुदायलाई हार्दिक निमन्त्रणा गर्दछु।’

आयोजकका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि हिमालयन मेलाले नेपाली संस्कृति, पर्यटन, व्यवसाय र सामुदायिक एकतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने विश्वास लिइएको छ।