टोरण्टो । गैरआवासीय नेपाली संघ (NRNA) क्यानडाले नेपाली डायस्पोराका केही सदस्यहरू संलग्न रहेको भनिएको मानव तस्करी तथा आप्रवासनसम्बन्धी ठगीका आरोपहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अगस्ट ११, २०२६ मा जारी प्रेस विज्ञप्तिमार्फत एनआरएनए क्यानडाले गैरकानुनी, अनैतिक वा आपराधिक गतिविधिमा संलग्न कुनै पनि व्यक्ति वा समूहसँग आफ्नो संस्थागत सम्बन्ध नरहेको स्पष्ट पारेको छ। संस्थाको नाम, पद वा सामाजिक तथा सांस्कृतिक कार्यक्रममा भएको सहभागितालाई व्यक्तिगत स्वार्थ वा गैरकानुनी गतिविधिका लागि दुरुपयोग गरिएको पाइएमा त्यस्ता कार्यको संस्थाले कडा शब्दमा भर्त्सना गर्ने जनाएको छ ।
एनआरएनए क्यानडाले घटनाबाट प्रभावित तथा पीडित व्यक्तिहरूप्रति संवेदनशीलता व्यक्त गर्दै उनीहरूको न्याय, सुरक्षा र कानुनी अधिकारका पक्षमा दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता जनाएको छ। साथै, यस्ता आरोपहरूको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कानुनी दायरामा ल्याउन स्थानीय तथा संघीय सुरक्षा निकायलाई आग्रह गर्दै अनुसन्धान र अभियोजन प्रक्रियामा आवश्यक सहयोग तथा समन्वय गर्ने जनाएको छ।
विज्ञप्तिमा क्यानडामा कानुनी र सुरक्षित बसोबास सुनिश्चित गर्न नेपाली समुदायलाई सचेत रहन र प्रलोभनमा नपर्न आग्रह गरिएको छ। आप्रवासनसम्बन्धी ठगी वा मानव तस्करीको शिकार भएको आशंका भएमा सम्बन्धित सरकारी निकायमा उजुरी गर्न एनआरएनए क्यानडाले अनुरोध गरेको छ। विज्ञप्तिमा ESDC Service Canada, CBSA Border Watch, Canadian Human Trafficking Hotline तथा RCMP लगायतका निकायमार्फत उजुरी गर्न सकिने जानकारी दिइएको छ।
एनआरएनए क्यानडाका प्रवक्ता टिलाराम सापकोटाद्वारा जारी विज्ञप्तिमा समुदायको प्रतिष्ठामाथि आँच पुर्याउने गैरकानुनी गतिविधिप्रति सबै एकजुट भएर सचेत हुनुपर्नेमा जोड दिइएको छ। साथै, गैरकानुनी गतिविधिमा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने संस्थाको स्पष्ट धारणा रहेको जनाइएको छ।

क्यानाडा नेपाल










