×

एजेन्सी । अमेरिकाले क्यानडेली सामानमा नयाँ ट्यारिफ लगाएपछि क्यानडाले पनि त्यसको कडा जवाफ दिने बताएको छ। प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाको नयाँ ट्यारिफलाई गल्ती भएको निष्कर्ष निकाल्दै आगामी सेप्टेम्बर ८ देखि ‘डलरको जवाफ डलर’ले दिने घोषणा गरेका हुन्।

शनिबार क्यानडेली नागरिकलाई सम्बोधन गर्दै कार्नीले अमेरिकाले क्यानडासँगको व्यापार वार्तामा धेरै माग राखेको तर त्यसको बदलामा निकै कम दिन प्रस्ताव गरेको बताए।

अमेरिकाले नयाँ ट्यारिफ लगाएपछि क्यानडा व्यापार युद्धको अवस्थामा प्रवेश गरेको कार्नीको भनाइ छ। क्यानडाले स्टिल, दुग्धजन्य पदार्थ, घरेलु उपकरण र विद्युतीय सामग्रीलगायतमा अमेरिकाले लगाएको ट्यारिफको समान मूल्यबराबरको प्रतिकारात्मक कर लगाउने जनाएको छ।

अमेरिका र क्यानडाबीच शुक्रबार भएको व्यापार वार्ता असफल भएपछि कार्नीको यस्तो घोषणा आएको हो। वार्ता असफल हुनुमा दुवै पक्षले एक-अर्कालाई अन्तिम समयमा सर्त परिवर्तन गरेको आरोप लगाएका छन्।

वार्ता असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने विभिन्न सामानमा ५० प्रतिशतसम्मको नयाँ ट्यारिफ लगाएको छ। यो क्यानडेली स्टिल, आल्मुनियम, कार तथा काठजन्य सामग्रीमा अमेरिकाले यसअघि लगाएको ट्यारिफभन्दा अतिरिक्त हो।

नयाँ ट्यारिफ क्यानडाबाट अमेरिकातर्फ जाने करिब २० अर्ब अमेरिकी डलरबराबरका सामानमा लागू हुनेछ। यो क्यानडाबाट हुने अमेरिकातर्फको कुल आयातको करिब ५ प्रतिशत हो।

अमेरिका र क्यानडा लामो समयदेखि निकट व्यापारिक साझेदार भए पनि पछिल्लो व्यापार विवादले दुई देशबीचको सम्बन्धमा तनाव बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पछिल्लो घटनाक्रमबारे अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।