Canada Nepal News

एजेन्सी । क्यानडा, फ्रान्स, जर्मनी, इटाली र बेलायतका सरकार प्रमुखहरूले ए संयुक्त विज्ञप्ति जारी गर्दै इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच बढ्दो सैन्य तनावप्रति “गम्भीर चिन्ता” व्यक्त गरेका छन्। इरानसँगको जारी तनाव र युद्धका बीच हिजबुल्लाहले इजरायली क्षेत्रमा गरेका आक्रमणहरूको निन्दा गर्दै उनीहरूले सर्वसाधारण नागरिक र लेबनानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (UNIFIL) माथि भएका हमलाहरूको समेत कडा आलोचना गरेका छन्। यद्यपि, उक्त विज्ञप्तिमा नागरिक र राष्ट्रसंघीय टोलीमाथि भएका आक्रमणहरू कसले गरेको हो भन्नेबारे इजरायलको नाम भने स्पष्ट रूपमा किटान गरिएको छैन।

शक्तिशाली राष्ट्रका यी नेताहरूले हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने लेबनानी सरकारको प्रयासलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच, उनीहरूले इजरायललाई लेबनानमा सम्भावित स्थलगत सैन्य कारबाही अघि नबढाउन चेतावनी समेत दिएका छन्। इजरायली सेना लेबनानभित्र प्रवेश गरेमा त्यसले “विनाशकारी मानवीय संकट” निम्त्याउने र यो द्वन्द्व दशकौँसम्म तन्किन सक्ने (protracted conflict) खतरा रहेको उनीहरूको निष्कर्ष छ।

विज्ञप्तिमा क्षेत्रीय शान्तिका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को पालना अनिवार्य रहेको उल्लेख गरिएको छ। नेताहरूले दुवै पक्षलाई तत्काल तनाव कम गर्न र कूटनीतिक वार्ताको बाटो रोज्न आग्रह गर्दै लेबनानी जनताको सुरक्षा र क्षेत्रीय स्थिरताका लागि अन्तर्राष्ट्रिय समुदाय एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।