Canada Nepal News

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने विषयमा गम्भीर रूपमा विचार गरिरहेको बताउनुभएको छ । भर्खरै रुसले युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पको यो भनाइ आएको हो ।

रुसले युक्रेनमा युद्ध क्षेत्रमा भयङ्कर आक्रमण गरिरहेको हुँदा युद्धविराम र अन्तिम शान्ति सम्झौता नहुँदासम्म रुसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी र करहरू लगाउन गम्भीर रूपमा विचार गरिरहेको ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ । रुस र युक्रेनलाई ढिला नगरी तुरुन्त वार्तामा आउन पनि उहाँले आग्रह गर्नुभएको छ ।

गएको मार्च ४ मा अमेरिकी विदेशमन्त्री मार्काै रुबियोले राष्ट्रपति ट्रम्पले रुसलाई सम्झौतामा सहमत हुन मनाउन काम गरिरहनुभएको बताउनुभएको थियो । अघिल्लो दिन अमेरिकाले युक्रेनलाई कुनै पनि गुप्तचर जानकारी नदिने बताएको थियो । यससँगै सैन्य सहायतामा प्रतिबन्ध लगाउने कुरा पनि भएको थियो ।

यसअघि युक्रेनको आलोचना गर्दै आउनुभएका ट्रम्पले अब रुसलाई दबाव दिन थाल्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका र उसका सहयोगीहरूले विभिन्न प्रतिबन्ध लगाएका छन् ।