
म्यानमार। गत साता गएको बिनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ। सिन्ह्वाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन्।
प्रधानमन्त्री मिन आङ ह्लिङले यो जानकारी दिँदै उनले बिभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार गरेका छन्। उनले भूकम्पको बिनाशकारी समयमा पनि सैन्य कारबाही जारी राख्ने जनाएका छन्।
‘तर, केही जातीय सशस्त्र समूहहरू अझै सक्रिय रूपमा लडाइँमा संलग्न रहेका छन्,’ ह्लिङले भने, ‘यो एक प्रकारको आक्रामकता भएको हुनाले सेनाले आवश्यक रक्षा कारबाही जारी राख्नेछ।’
भूकम्पको विनाश र मानवीय सहायता पठाउनमा विश्वव्यापी ध्यान केन्द्रित भएको बेला म्यानमारको सेनाले देशभरि प्रतिरोधी समूहहरू विरुद्ध आक्रमण जारी राखेको म्यानमार नाउको रिपोर्टमा उल्लेख गरिएको छ।
सो आक्रमणहरूप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकामा आधारित वकालत गर्ने समूह ह्युमन राइट्स वाचले म्यानमारको सैन्य सरकारले भूकम्प पीडितहरूका लागि मानवीय सहायतामा तत्काल, निर्बाध पहुँचको अनुमति दिनुपर्छ र आपतकालीन प्रतिक्रियामा बाधा पुर्याउने प्रतिबन्धहरू हटाउनुपर्ने जनाएकाे छ।
यद्यपि, मार्च २८ मा यस क्षेत्रमा भूकम्प गएपछि पनि सेनाले प्रभावित क्षेत्रमा हवाई आक्रमण जारी राख्रदै सीमित इन्टरनेट पहुँच सुरु गरेको छ, जसले मानवीय प्रतिक्रियालाई थप जटिल बनाएको जनाइएको छ।
पाँच दिनपछि भग्नावशेषबाट जीवितै उद्दार
भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ ।
गत साता गएको ७.७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि उक्त व्यक्तिको उद्धार गरिएको म्यानमारको प्रदेश प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ । भग्नावशेषमा दुई जना फसेको सूचना टोलीले जनाएको छ । म्यानमारको फायर सर्भिस डिपार्टमेन्ट र टर्कीका उद्धार टोलीले एक जनाको सकुशल उद्धार गरेका छन् ।
सो होटलमा मंगलबार स्थानीय समय अनुसार दिउँसो करिब ३ः०० बजे सुरु भएको उद्दार पक्रिया १२ घन्टा पछि बुधबार स्थानीय समय अनुसार साढे तीन बजे उक्त व्यक्तिको उद्धार गरिएको हो । १२ घन्टा लामो उद्दार प्रयास पछि ५ दिन पछि जीवितै उद्दार गरिएको हो ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार फसेका बाँकी व्यक्तिको खोजी र उद्धारको प्रयास भइरहेको छ।