Canada Nepal News

एजेन्सी । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ। बुधबार राति भारतीय समयअनुसार १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेसन सिन्दुरुअन्तर्गत भारतले हवाई आक्रमण गरेको हो ।

यी तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। भारतीय पत्रिका दैनिक भास्करले अनुसार पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको बताएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ। पाकिस्तानको इन्टर(सर्भिसेज पब्लिक रिलेसन्स (ISPR) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए। समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छः प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरे।

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

भारतको आक्रमणको जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले बताएका छन् ।भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो।

भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर-उत्तेजक’ भएको दाबी गरेको छ। पाकिस्तानी सेनाले भारतले कोटली, मुजफ्फराबाद र बहावलपुर सहित ६ ठाउँमा आक्रमण गरेको र कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ।

पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’ पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ रूपमा जवाफ दिने बताएको छ। रातभरको आक्रमणपछि, भारतीय सेनाले ‘न्याय भएको’ बताएको छ ।