एजेन्सी । साउदी अरबको जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनी लि. टाट पल्टिने अवस्थामा पुगेपछि ४६९ नेपाली कामविहीन भएका छन्।
उनीहरूमध्ये कतिपयले तलव भत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन रियादस्थित नेपाली दूतावाससँग आग्रह गरेका छन्। त्यससम्बन्धमा दूतावासले समस्या सम्बोधनका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ।
दूतावासका अनुसार नेपाल फर्कन चाहनेहरूको बहिर्गमन भिसाका सन्दर्भमा साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजात समेत पठाइ सकिएको छ। श्रम कार्यालयहरूले बहिर्गमन भिसा जारी गर्ने प्रणाली विगत केही महिनादेखि प्राविधिक रूपमा अद्यावधिक गराउने प्रयास गर्दा बहिर्गमन भिसा जारी हुने समग्र प्रणालीबाट काम हुन नसकेको राजदूतावासको भनाई छ।
‘साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकहरूलाई र विशेष गरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूलाई बहिर्गमन भिसा यथाशक्य छिटो जारी गरिदिन अनुरोध गर्दै साउदी सरकारको श्रम मन्त्रालयमा हिजो मात्रै १४ मे २०२५ का दिन वैठक तथा छलफल भएको छ’ दूतावासले बिहीबार विज्ञप्ति जारी गरी भनेको छ, ‘नेपाल फर्कन चाहनेहरूको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानूनी आधारहरू पुरा गरी नेपाल फर्काउने तथा साउदी अरबका अन्य कम्पनीहरूमा स्थानान्तरण भइ रोजगार गर्न चाहनेहरूका लागि स्थानान्तरण प्रक्रियालाई सहजीकरण गर्ने सम्बन्धमा साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफलहरू सकारात्मक रूपमा अगाडि बढेका छन्।’
यसै सन्दर्भमा विवरण अद्यावधिक गर्ने र नेपाल फर्कनु अगावै बाँकी सेवा सुविधा प्राप्त गर्ने कानूनी प्रक्रिया पुरा गर्ने विषयमा जानकारी गराउन राजदूतावासले आज कम्पनीमा रहेका नेपाली श्रमिकहरूसँग भर्चुअल वैठक आयोजना गरी विवरण माग गरेको छ।
विवरण प्राप्त भएपश्चात् सेवा सुविधा प्राप्त गर्ने कानूनी प्रक्रिया पुरा गरी नेपाल फर्कन चाहनेहरूका लागि यथाशक्य छिटो बहिर्गमन भिसा दिलाउन राजदूतावासले निरन्तर रूपमा थप कूटनीतिक पहल गर्ने दूतावासले जनाएको छ।
यस अवधिमा धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्य सम्बन्धी समस्या परेमा राजदूतावासका तृतीय सचिव दिनेश प्रसाद शिवाकोटीलाई मोमाइन नं ०५५८९००३३९ मा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ।
क्यानाडा नेपाल










