एजेन्सी । जुन १३ देखि इरान र इजरायलबीच युद्ध जारी छ। एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन् ।
यस क्रममा बिहीबारसम्म दुवैतर्फ गरेर कम्तीमा ६६० जना मारिएको र १ हजार ७ सय जनाभन्दा बढी घाइते भएको तथ्यांक सार्वजनिक भएको छ।
यसबीच इजरायलले अब इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी पनि बाँकी नरहने चेतावनी दिइरहेको छ।
बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले खामेनीलगायत इरानमा कोही पनि सुरक्षित नरहेको चेतावनी दिएका छन् भने रक्षामन्त्री इजरायल काट्जले खामेनीलाई आधुनिक हिटलरको संज्ञा दिएका छन्।
इजरायली रक्षामन्त्री काट्जले भने, ‘खामेनीजस्ता तानाशाहलाई बाँच्ने कुनै अधिकार छैन। उनी सधैँ आफ्ना एजेन्टमार्फत इजरायललाई नष्ट गर्न चाहन्छन्।’
प्रधानमन्त्री नेतन्याहु र रक्षामन्त्री काट्जले यस्तो आक्रोश बिहीबार इजरायलका चार सहर- तेल अभिभ, बेरशेबा, रमत गान र होलोनमा इरानले क्षेप्यास्त्र हानेपछि व्यक्त गरेका हुन्।
इरानले बिहीबार तेल अभिभमा रहेको इजरायली स्टक एक्सचेन्ज भवन, बेरशेबामा रहेको अस्पतालसहित धेरै ठाउँमा हवाई आक्रमण गरेको छ। जसमा परी १७६ जना घाइते भएको र ६ व्यक्तिको अवस्था गम्भीर रहेको इजरायलले बताएको छ। युद्ध सुरुभएयता अहिलेसम्म २४ जना इजरायली मारिएका छन्।
उता इरानको अनुगमन गर्ने वासिङ्टनस्थित मानव अधिकार संगठनले इजरायलको हमलामा इरानमा हालसम्म ६३९ जना मारिएको बताएको छ। अनि घाइतेको संख्या १३२९ पुगेको बताएको छ।
क्यानाडा नेपाल










