Canada Nepal News

टेक्सस । टेक्सस राज्यमा आएको भीषण बाढीपछि उद्धारकर्मीहरू शनिबार पनि नदी किनारका भागहरूमा ढलेका रूख, पल्टिएका सवारीसाधन, र हिलोले भरिएका फोहोरबीच हराइरहेका व्यक्तिहरूको खोजीमा जुटिरहेका छन्।

अझै पनि हराइरहेका दुई दर्जनभन्दा बढी बालिकाहरूको अवस्था अज्ञात रहेको छ भने शिविरमा पानीले भीषण प्रहार गरेको थियो।

एपि समाचारका अनुसार यो विनाशकारी बाढीमा कम्तीमा ३७ जनाको मृत्यु भइसकेको छ, जसमा १४ बालबालिका छन्।

क्याम्प मिस्टिक नामको इसाई ग्रीष्मकालीन बालिका शिविर रहेको केर काउन्टी नजिकै धेरै शवहरू फेला परेका छन्। बाढी आएको ३६ घण्टापछि पनि अधिकारीहरूले शिविरबाहेक अन्य कति हराइरहेका छन् भन्ने खुलाएका छैनन्।

शुक्रबार बिहान उज्यालो नहुँदै ग्वाडालुप नदीमा पानीको सतह ४५ मिनेटमै २६ फिट (८ मिटर) बढेको थियो, जसले घर र सवारीहरू बगाएको थियो।

शनिबार पनि सान एन्टोनियो क्षेत्र आसपास लगातार भारी वर्षा भइरहेकाले आकस्मिक बाढी चेतावनी जारी नै थियो।

उद्धारका लागि उदग्रविमान( हेलिकप्टर), डुङ्गा र मानवरहित यान प्रयोग गरिएको छ। रुखमा अड्किएका वा बाटो भत्किएर अलगिएको शिविरमा फसेकाहरूको उद्धार गरिएको छ।

टेक्ससका गभर्नर ग्रेग आवेटले भने, “हामी निरन्तर खोजी गर्दै सबै बेपत्ताहरूलाई फेला पार्नेछौं।” अस्टिन वरपर र टेक्सस पहाडी भूभाग क्षेत्रमा व्यापक खोजी जारी छ।

ट्राभिस काउन्टीमा ३ जनाको मृत्यु भइसकेको छ र अझै १० जना बेपत्ता छन्।