Canada Nepal News

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणलाई थप तीव्र पार्ने चेतावनी दिएका छन् । बिहीबार अबेर राती सामाजिक सञ्जालमा एक प्रकाशन गर्दै उनले अमेरिकाले इरानमा बाँकी रहेका संरचनाहरू अझै ध्वस्त पार्न सुरु नै नगरेको बताएका छन् । ट्रम्प लेख्छन् , “अबको निशाना पुलहरू हुनेछन्, त्यसपछि बिजुली उत्पादन केन्द्र (पावर प्लान्ट) हरू!”

यसअघि ‘टाइम’ म्यागजिन(*पत्रिका)सँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले रातारात इरानका तीनवटा ठूला पुलहरू बमबारी गरेर उडाइदिएको दाबी गरेका थिए । फेब्रुअरी २८ देखि सुरु भएको यो युद्ध अहिले पाँचौँ हप्तामा प्रवेश गरेको छ र तनाव झनै बढ्दै गएको देखिन्छ।इरानको दाबी र अमेरिकाको खण्डन :

यसैबीच, इरानको सैन्य संगठन ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ ले स्ट्रेट अफ हर्मुज(जलडमरु) नजिकैको केश्म टापुमा एउटा “शत्रु” (अमेरिकी) लडाकु विमान खसालेको दाबी गरेको छ। इरानले यसअघि पनि पटक-पटक यस्ता दाबीहरू गर्दै आएको छ।

तर, अमेरिकाले इरानको यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आफ्ना सबै लडाकु विमानहरू सुरक्षित र सम्पर्कमा रहेको स्पष्ट पारेको छ। अमेरिकी अधिकारीहरूका अनुसार इरानले मनोबल उच्च राख्नका लागि कम्तीमा आधा दर्जन पटक यस्तो झुटो दाबी गरिसकेको छ।

राष्ट्रपति ट्रम्पले इरानलाई “ढुङ्गे युग” मा पुर्‍याइदिने चेतावनी दिइ रहेका छन् । यो युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढेको छ ।

इरानको जवाफ: “पुल भत्काउँदैमा हामी आत्मसमर्पण गर्दैनौँ, अमेरिकाको इज्जत मात्र घट्नेछ”

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानका संरचनाहरू ध्वस्त पारेर आफूहरूलाई झुकाउन नसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एउटा ठूलो पुल भत्किएको श्रब्यदृश्य (भिडियो )सार्वजनिक गरेपछि अराघचीले सामाजिक सञ्जालमार्फत यस्तो जवाफ दिएका हुन् ।

अराघचीले भने , “अपूर्ण रहेका पुल वा नागरिक संरचनामा आक्रमण गर्नु पराजित मानसिकताको संकेत हो। हामीले भत्काइएका हरेक भवन र पुललाई पहिलेभन्दा अझ बलियो बनाएर पुनर्निर्माण गर्नेछौँ। तर, यो युद्धले विश्वमा अमेरिकाको प्रतिष्ठामा जुन क्षति पुगेको छ, त्यो कहिल्यै निको हुने छैन।”

राष्ट्रपति ट्रम्प र अमेरिकी रक्षा सचिबले इरानलाई “ढुङ्गे युग” मा पुर्‍याइदिने चेतावनी दिएका थिए। त्यसको जवाफ दिँदै अराघचीले ढुङ्गे युगमा मध्यपूर्वमा तेल र ग्यासको पम्पिङ नहुने भन्दै अमेरिकालाई त्यसको नतिजाबारे सोच्न चुनौती दिएका छन् । उनले प्रश्न गर्दै भने “के अमेरिकी जनता र राष्ट्रपति समयको घडीलाई पछाडि फर्काउन तयार छन्?”

यो तनाव अब इरान र अमेरिकाबीच मात्र सीमित रहेन। सिबिएसन्यूजका अनुसार इरानले छिमेकी राष्ट्र कुवेतमाथि पनि ठूलो आक्रमण सुरु गरेको छ। कुवेतको विद्युत् र जल मन्त्रालयका अनुसार इरानले कुवेतको एउटा ठूलो विद्युत् र खानेपानी शुद्धीकरण केन्द्रमा आक्रमण गरेको छ। यसबाट त्यहाँको यन्त्रमा ठूलो क्षति पुगेको छ।

त्यति मात्र होइन, कुवेतको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र ‘अल-अहमदी पोर्ट रिफाइनरी’ मा पनि इरानले मानव रहित यान (ड्रोन )आक्रमण गरेको छ। उक्त आक्रमणपछि तेल प्रशोधन केन्द्रका धेरै ठाउँमा भीषण आगलागी भएको छ। कुवेतका प्राविधिक र आपतकालीन टोलीहरू आगो निभाउन र सेवा सुचारु राख्न संघर्ष गरिरहेका छन्। इरानको यो कदमलाई कुवेतले “जघन्य आक्रमण” को संज्ञा दिएको छ।

यो घटनाले खाडी क्षेत्रमा ठूलो युद्धको खतरा बढाएको छ। एकातिर अमेरिकाले इरानी संरचना ध्वस्त पारिरहेको छ भने अर्कोतिर इरानले अमेरिकी सहयोगी राष्ट्रहरूका तेल र ऊर्जा केन्द्रहरूलाई निशाना बनाउन थालेको छ।