Canada Nepal News

काठमाण्डौ । नेपालमा पर्यटक आगमन दर निरन्तर बढ्दै गएको छ। नेपाल पर्यटन बोर्डका तथ्याङ्कअनुसार, चालु वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो समय पर्यटकीय याम भएकाले पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको बोर्डले जनाएको छ।

तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट ८ हजार ४४४ पर्यटक नेपाल आएका छन्।

चालु वर्षको जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कुल ९ लाख ४३ हजार ७१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको बोर्डको विश्लेषण छ।

अक्टोबर महिनामा भारतबाट १७ हजार २९८, अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६ र अष्ट्रेलियाबाट ६ हजार १७७ जना पर्यटक नेपाल आएका थिए।

त्यस्तै, श्रीलङ्काबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बङ्गलादेशबाट ४ हजार ६४१, र म्यानमारबाट ३ हजार ३८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्डले आगामी महिनामा पनि हिमाल आरोहण, ट्रेकिङ र सांस्कृतिक भ्रमणका कारण पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरेको छ।