Canada Nepal News

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप लिग–टु अन्तर्गत सेप्टेम्बरमा क्यानडामा हुने त्रिकोणात्मक शृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भारत गएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टोली सोमबार बिहान भारत गएको हो ।

टोलीले बेङ्लोरको नेसनल क्रिकेट एकेडेमी (एनसीएमा) मा दुई साता प्रशिक्षण गर्नेछ। नेपालले आईसीसी एकदिवसीय विश्वकप लिग–टुअन्तर्गत ओमान र क्यानडासँग त्रिकोणात्मक शृंखला खेल्नेछ।

नेपालले लिग–टुमा दोस्रो शृंखला खेल्न लागेको हो। यसअघि घरेलु मैदानमै भएको पहिलो शृंखलामा नेपालले चारमध्ये एक खेलमा मात्रै जित निकालेको थियो। नामिबिया र नेदरल्यान्ड्स सम्मिलित पहिलो शृंखलामा नेपालले एउटा खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

आईसीसी एकदिवसीय विश्वकप लिग–टुमा चार खेलमा दुई अंक जोडेको नेपाल छैटौं स्थानमा छ। सात खेलमा नौ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ भने आठ अंक जोडेका क्यानडा दोस्रो, नामिबिया तेस्रो, ६ अंक जोडेको नेदरल्यान्ड्स चौथो, तीन अंक जोडेको ओमान पाँचौं स्थानमा छन्। अहिलेसम्म एउटै खेल नखेलेको अमेरिका सातौं र तीन खेल खेलेको संयुक्त अरब इमिरेट्स (यूएई) पुछारमा छ।

क्यानडाको त्रिकोणात्मक शृंखलाका लागि क्यानले २२ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा समावेश गरेको छ। जसमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिलकुमार साह, देव खनाल, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख, सूर्य तामाङ, कुशल मल्ल, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, आकाश चन्द, अर्जुन साउद, सागर ढकाल, सोमपाल कामी र सन्दीप जोरा छन्।