
शिशिर सिंखडा, टोरण्टो । नेपाली सांगीतिक आकाशका एक नक्षत्र वरिष्ठ गायक दिप श्रेष्ठको क्यानडामा पहिलो पटक एकल साँझ कार्यक्रम हुने भएको छ।
आगामी मार्च १ तारीखमा मिसिसागाको स्वागत बेन्क्युट हलमा लाईभ म्युजिकका साथमा हुने सो एकल सांझ बेलुकी ६ः३० बजेबाट राति १०ः३० बजे सम्म हुने छ ।
१ सय जना सहभागी हुने सो कार्यक्रमको टिकट शुल्क १ सय डलर रहेको आयोजकले जनाएका छन ।
सांगितिक साँझको टिकट बिक्रीबाट उठेको सम्पूर्ण रकम वरिष्ठ गायक श्रेष्ठलाई हस्तान्तरण गर्ने आयोजकको योजना रहेको छ ।
सो एकल सांझ कार्यक्रमको ब्यबस्थापन समाजसेवी तथा अधिवक्ता केशव दाहाल र ध्रुव भट्टराईले गर्नु भएको छ ।
गायक तथा संगीतकार श्रेष्ठ नेपाली संगीतमा सदाबहार गायकका रूपमा परिचित छन ।
कार्यक्रममा वरिष्ठ गायक श्रेष्ठले करिब २ दर्जन गित लाईभ म्युजिकका साथ गाएर पहिलो पटक क्यानडाका नेपाली समुदायलाई भरपुर मनोरञ्जन दिनेछन् ।
...’म त दुरदेखि आँए- तिम्रो नाम बोकेर’, ‘बितेका कुरा’, ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनीमा ऐठन हुन्छ’, ‘म पत्थरको देवता होइन’, ‘गाउँमा सायद पहिरो गयो कि’ जस्ता दर्जनौं सदावहार गीतका गायक तथा आधुनिक संगीतका नायक श्रेष्ठको एकल सांझमा सहभागी भएर मनोरन्जन लिन र कलाकारप्रति सम्मान अर्पण गर्न आयोजकले अपिल गरेका छन ।
‘म पत्थरको देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हुँ
सधैँ बाँचिरहने…’
गायक श्रेष्ठले यही गीत रेकर्ड गराएर ०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । ५६ वर्षदेखि गायनमा निरन्तर श्रेष्ठ अहिले पनि उत्तिकै जोशका साथ नेपाली सांगीतिक आकाशमा परिचीत छन ।
स्वादिष्ट खानासंगै दीप श्रेष्ठ सांझमा रमाउन आयोजकले सबैलाई अनुरोध समेत गरेका छन ।