Canada Nepal News

 टोरण्टो । अटवास्थित नेपाली दूतावासले गत १५ तथा १६ फेब्रुअरी २०२५ सम्म क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको सरेमा मोबाइल कन्सुलर सेवा शिविर सञ्चालन गर्यो। उक्त शिविर हिन्दू बौद्ध फाउन्डेशन अफ क्यानडा, नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बिया, गैरआवासीय नेपाली संघ क्यानडा (NRNA) तथा सो प्रान्तमा रहेका अन्य नेपाली समुदायका संस्थाहरूको सहकार्यमा सम्पन्न गरिएको थियो। मोबाइल सेवा शिविर हिन्दू बौद्ध फाउन्डेशन अफ क्यानडा मन्दिरको परिसरमा आयोजना गरिएको थियो।

उक्त शिविर मार्फत क्यानडाका ब्रिटिश कोलम्बिया, सास्काचेवान, म्यानिटोबा, र अल्बर्टा प्रान्तका नेपाली नागरिकहरू, विशेषगरी नेपाली विद्यार्थीहरूलाई राहदानी नवीकरण तथा अन्य वाणिज्य दूतावास सेवाहरू प्रदान गरिएको थियो। नेपाली समुदाय र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेका विभिन्न प्रान्तहरूमा सेवा प्रदान गर्ने उद्देश्यले अटवास्थित नेपाली दूतावासले केही समयदेखि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। सेवाग्राहीहरू र नेपाली समुदायका सदस्यहरूले यस प्रयासलाई उच्च मूल्याङ्कन गरेका छन् ।

दूतावासले एक विज्ञप्ति प्रकाशित गरी उक्त शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साझेदार संस्थाहरू, तिनका पदाधिकारीहरू, समुदायका अगुवाहरु तथा स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । साथै, आगामी दिनहरूमा पनि यस्तै प्रकारको सहकार्यको अपेक्षा गर्दछ।

यसै गरी गत १५ फेब्रुअरी का दिन नेपाली दूतावासले भ्यानकुभरमा रहेका नेपाली समुदायका उद्यमीहरूसँग ‘मिट एन्ड ग्रिट’ कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा नेपाली उद्यमी समुदायका सदस्यहरूले आफ्नो व्यवसायिक यात्रा र सफलता बारे प्रस्तुति दिएका थिए। क्यानडाका लागि नेपालका राजदूत भरत राज पौड्यालले नेपाली उद्यमीहरूलाई आफ्ना विशेष दक्षता, सीप तथा क्षमताको भरपूर उपयोग गरी व्यवसाय विस्तार गर्न प्रोत्साहित गरे । उनले नेपाल सरकारद्वारा गरिएका नीतिगत सुधारहरूबारे उल्लेख गर्दै नेपाल-क्यानडा व्यापार प्रवर्द्धन गर्न, नेपालमा प्रविधि, ज्ञान तथा लगानी भित्र्याउन नेपाली उद्यमीहरूलाई आह्वान पनि गरे।