
टोरण्टो । नेपाली सांगीतिक आकाशका एक नक्षत्र वरिष्ठ गायक, संगीतकार तथा गितकार दीप श्रेष्ठको बिशेष प्रस्तुति मिसिसागामा सम्पन्न भएको छ। शनिबार साँझ भएको कार्यक्रममा उहाँले करिब १ दर्जन गीत कर्णप्रीय गीतहरु प्रस्तुत गर्नुभएको थियो ।
स्वागत बेन्क्युट हलमा २ सय भन्दा वढि दर्शकहरुको सहभागीता रहेको कार्यक्रममा बरिस्ठ गायक श्रेष्ठलाई नेपाली समुदायको तर्फबाट दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मानित गरिएको थियो । उहाँलाई अधिवक्ता केशवप्रसाद दाहाल, ध्रुव भट्टराई र समाजसेवी रमेश भट्टराईले सम्मान गर्दै नगद ५ हजार डलर समेत प्रदान गर्नुभएको थियो ।
वरिष्ठ गायक श्रेष्ठले …’म त दुरदेखि आँए- तिम्रो नाम बोकेर’….., ‘बितेका कुरा’…., ‘कति कमजोर रहेछ भाग्य…’, ‘हर रात सपनीमा ऐठन हुन्छ….’, ‘म पत्थरको देवता होइन….’, ‘गाउँमा सायद पहिरो गयो कि…..’ जस्ता दर्जनौं सदावहार गीतहरु कार्यक्रमका प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गायक श्रेष्ठलाई युगल गितमा गायिका बिनया निरौलाले साथ दिनु भएको थियो । लाईभ म्युजिक सहितको बिशेष साँझमा तबलामा सन्तोष घिमिरे, बाँसुरीमा प्रदिप बास्कोटा, गितारमा उदयराज पौडेल, रितेश सुनार र सञ्जय अधिकारी, साउण्ड ईफेक्टमा रबिन्द्र घिमिरे र साउण्ड ईन्जिनियरमा सुरज शर्माले कार्यक्रमभर साथ दिनुभएको थियो ।
कार्यक्रम नेपाली साहित्य समाज क्यानडाकी महासचिव साहित्यकार पारु पाण्डेयले संचालन गर्नु भएको थियो। सो अबसरमा अधिवक्ता केशवप्रसाद दाहालले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै नेपाली आधुनिक संगीतका शिखर ब्यक्तित्व, सदावहार गायक श्रेष्ठलाई क्यानडामा स्वागत गर्न पाएकोमा नेपाली समुदायको तर्फबाट उहाँलाई आभार व्यक्त गर्नु भयो । सो कार्यक्रम सम्पन्न गर्न बिशेष रुपमा खटिएर सहयोग गर्नुहुने ब्याक्तित्व हरुलाई वरिष्ठ गायक दीप श्रेष्ठले कार्यक्रममा कदर पत्र प्रदान गर्नु भएको थियो ।
बिशेष साँझ कार्यक्रमको ब्यबस्थापन समाजसेवी तथा अधिवक्ता केशवप्रसाद दाहाल र ध्रुव भट्टराईले गर्नु भएको थियो । गायक श्रेष्ठ नेपाली संगीतमा सदाबहार गायकका रूपमा परिचित हुनुहुन्छ। उहाँले ४ सय भन्दाबढी गितहरु गाउनु भएको छ ।
‘म पत्थरको देवता होइन
तोडिएर जोडिने
न म त्यो देव हुँ
सधैँ बाँचिरहने…’
गायक श्रेष्ठले यही गीत रेकर्ड गराएर ०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । अहिले पनि उत्तिकै जोशका साथ उहाँ नेपाली सांगीतिक आकाशमा परिचीत हुनुहुन्छ ।