Canada Nepal News

टोरण्टो । क्यानडाको मिसिसागा शहरमा नयाँ लायन्स क्लब गठन गरिएको छ । क्यानडामा रहेका नेपालीहरुको नेतृत्वमा  “मिसिसागा क्यानडा नेपाल लायन्स क्लब” गठन गरिएको हो । सो क्लबको संस्थापक अध्यक्षमा घनश्याम भट्टराई, सचिब ध्रुवमणि पौडेल र कोषाध्यक्षमा ऋषि पोख्रेल चयन हुनु भएको छ ।
नव गठित सो क्लबको लायन्स क्लब इन्टरनेशनलका अप कमिङ इन्टरनेशनल प्रेसीडेन्ट (बर्ष २०२५/२६) एपी सिंह द्वारा क्लबको उद्घाटन गरिएको थियो । जुम मिटिङ मार्फत भएको सो उदघाटनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सिंहले क्यानडामा नयाँ क्लब स्थापना भएकोमा खुशी व्यक्त गर्दै समाजसेवामा समर्पित हुन लायन्समा जोडिनु भएका सबै सदस्यहरुलाई स्वागत समेत गर्नुभएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि लायन्स इन्टरनेशनल डिरेक्टर बालकृष्ण बुर्लाकोटीले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लायन्स डिष्ट्रीक्ट A711 का पास्ट डिष्ट्रीक्ट गभर्नर ड्यान सिबान्डा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । स्पोन्सर क्लब मिसिसागा कुकभ्याली क्लबको आयोजनामा यही जुन २६ बिहीबार साँझ भएको कार्यक्रम सो क्लबका सचिब आशिष अधिकारीले संचालन गर्नुभएको थियो ।
सो नयाँ क्लबमा २८ जना सदस्यहरु रहेका छन । नव गठित क्लबका चार्टर प्रेसिडेन्ट घनश्याम भट्टराई लायन्स डिष्ट्रीक्ट 325B बर्ष 2016/17 का डिष्ट्रीक्ट गभर्नर समेत भैसक्नु भएको ब्यक्तित्व हुनुहुन्छ ।
क्लबमा पुर्व अध्यक्षहरु सहित ४ जनाले चार्टर सदस्य हस्तान्तरण गरेर क्लबको सदस्य बन्नु भएको छ भने २४ जना नयाँ सदस्य रहनुभएको छ । क्लबको कार्यसमितिको यही जुलाईको पहिलो हप्ता हुने इन पर्सन मिटिङबाट पुर्णता दिईने क्लबका अध्यक्ष घनश्याम भट्टराईले जानकारी दिनुभयो ।