
शिशिर सिखडा, टोरण्टो । क्यानडाको ब्राम्पटन शहरमा भोलि आईतवार “दोश्रो नेपाल फेस्टिवल-२०२५” हुने भएको छ । लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा (२०८२ असार २२ गते) सो फेस्टिवल हुने लागेको हो ।
नेपाली कला-सस्कृती, गित-संगीत, भेषभुषा, नेपाली खानाका परिकार, नेपाली हस्ताकला र विभिन्न नेपाली उत्पादनको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने महोत्सवको मुख्य उध्येश्य रहेको छ ।
फेस्टिवलको सम्पुर्ण तयारी पूरा भएको आयोजक समितिका सदस्य अमृत बानियाले जानकारी दिए । मञ्चको तयारीका साथै कार्यक्रम स्थल र वरपर नेपाली झण्डा र नेपाली सस्कृती झल्किने ब्यानर तथा सजावट गरिएको ब्यबस्थापन समितिका संयोजक बानियाले बताए ।
ब्राम्पटन सिटीको डाउन टाउन स्थित गेज पार्कमा दिउँसो १२ बजेबाट बेलुकी ९ बजे सम्म संचालन हुने महोत्सवमा १२ वटा विभिन्न नेपाली खानाको परिकारका स्टल सहित करिब ३० भन्दा बढी अन्य व्यावसायिक स्टल पनि रहने लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका बोर्ड सदस्य एवं नेपाल फेस्टिवल-२०२५” मुल समारोह समितिका प्रचार बिभाग संयोजक अनिल ज्ञवालीले जानकारी दिए।
महोत्सवमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, मधेसी लगायतका विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी र नृत्यहरु र लाखेनाच पनि प्रस्तुत हुनेछन।
महोत्सवमा प्रवेश निशुल्क र पार्किङको पनि निशुल्क ब्यबस्थापन गरिएको छ । करिब १० हजार जना भन्दा बढीको सहभागीता रहने आयोजक सस्था लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका अध्यक्ष एवं नेपाल फेस्टिवल-२०२५” मुल समारोह समितिका संयोजक क्रिजल केसीले जानकारी दिए।
गत बर्ष पनि लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको आयोजनामा सोही स्थानमा पहिलो नेपाल फेस्टिवल भब्य रुपमा सम्पन्न भएको थियोे । भोलि आईतवार हुने सो फेस्टिवलको उदघाटन क्यानडाका लागि महामहिम नेपाली राजदुत भरतराज पौडेलले गर्नु हुने छ।
लोक गायिका शान्तिश्री परियार सहितका कलाकारको विशेष प्रस्तुति
लोक दोहोरी गायिका शान्तिश्री परियार सहितका कलाकारहरुको महोत्सवमा विशेष प्रस्तुति रहने छ ।
गल्बन्दी च्यातियो तिम्ले तानेर… लगायत दर्जनौं चर्चित गीत उनले महोत्सवमा प्रस्तुत गर्नेछिन । महोत्सवमा लोक गायिका देवीका केसी, गायक मानसिं खड्का, आशीर्वाद सुवेदी, स्मृति खड्का, सुरज आचार्य, स्मृति शाही, गौरव बिश्वकर्मा, अनिता राई, समिक्षा परियार लगायतका कलाकारहरुले आ-आफ्नो प्रस्तुति गर्ने नेपाल फेस्टिवल-२०२५” मुल समारोह समितिका प्रचार बिभाग संयोजक अनिल ज्ञवालीले जानकारी दिए।
