Canada Nepal News

टोरण्टो । काठमाडौंमा पत्रकारिता गर्दागर्दै क्यानडा आईपुगेका जगन सापकोटा करिब ११ वर्षदेखी क्यानडामा संघर्ष गरिरहेका छन् । २०१४ मा उनी क्यानडामा ल्यान्ड भएका थिए । क्यानडा आएको लामो समयपछि उनले नेपालबाट आएर यहाँ बस्ने नेपालीको नेतृत्व गर्ने ‘अठोट’ लिएर अघि बढेका छन् । बाग्लुङमा जन्मे हुर्केका सापकोटा आसन्न एनआरएनए क्यानडाको अध्यक्षको उम्मेद्वार हुन् । ब्राम्टन सिटी र आसपासलाई आफ्नो ‘जक्सन’ बनाएका सापकोटा क्यानडामा रेष्टुरेन्ट ब्यबसायी, रियल स्टेट सेल्सपर्सन, इन्भेष्टर र फाइनन्सियल एडभाइजरको रुपमा स्थापीत भएका छन् ।

बागलुङदेखि ब्राम्टनसम्म: सेवा, संघर्ष र सफलता

क्यानडा आएर उनले शुरुमा रेष्टुरेण्टहरुमा काम गरे । सापकोटा संझन्छन्, ‘रेस्टुरेन्टमा हेल्परको काम गर्दै सेफ भएँ, आफैंले रेष्टुरेण्ट खोलेँ ।’ विश्वव्यापी कोरोनाको लहर आएसँगै उनले रेष्टुरेण्ट व्यवसाय थाती राखेर रियल स्टेट कोर्स अध्ययन गरे । ‘कोरोनापछि झोला कसेर पढ्न हिँडेँ, अहिले रियल स्टेटको कोर्स पुरा गरेर अहिले सेल्सपर्सनको रुपमा कार्यरत छु’ सापकोटा भन्छन् ।  ‘अहिले म एभरेस्ट रियालिटी ब्रोक्रेजमा आबद्ध रहेर काम गरिरहेको छु ।’ रेस्टुरेन्टमा आफुले काम गर्दा पाएको जस्तो दुःख नेपालबाट आउने अरुले नपाउन भनेर सापकोटा अरुलाई सहयोग गर्न रुचाउँछन् । सहयोग गरिरहेका छन् । सापकोटालाई क्यानडामा मानिसहरुले ‘रियल स्टेट सेल्सपर्सन’को रुपमा बुझ्छन् । उनी अब लगानीको काम गर्नेगरी अघि बढेका छन् । भन्छन्, ‘अब इन्भेस्टमेन्टको काम पनि गर्छु ।’ रेष्टुरेण्टमा काम गर्दा वा रेष्टुरेण्ट चलाउँदा सापकोटा समयको चापमा हुन्थे । नेपाली समुदायमा पुग्न उनलाई धौधौ हुने गरेको थियो ।

पछिल्लो ५ वर्षयता उनले नेपाली समुदायले आयोजना गरेका हरेक कार्यक्रममा ‘स्पोन्सर’ गर्ने गरेका छन् । उनि थप्छन्, ‘अहिले हरेक प्रोग्राममा म पुगेको हुन्छु ।’ नेपाली समुदायको बिचमा सक्रिय उनि २०२३ मा भएको एनआरएनए चुनावमा ब्राम्टन सिटीबाट नेशनल काउन्सिल कमिटी सदस्यमा निर्वाचित भएका थिए । त्यसबेला उनले अत्यधिक मत ल्याए । सो मतलाई उनले आसन्न निर्वाचनको ‘आधार’ मानेका छन् । क्यानडाको अध्यक्षमा निर्वाचित भएर उनले आफुले गर्ने कामको खाका तयार गरिसकेका छन् । उनी भन्छन्, ‘त्यतिबेला मैले गर्ने कामहरु थुप्रै छन्, जुन काम एनआरएनए क्यानडाको लागी कोशेढुंगा साबित हुनेछ ।’ ‘सेल्फ ईम्प्लोइ’ जगनसँग समयको अभाव छैन् ।

एनआरएनए क्यानडालाई आफ्नै जग्गामा उभ्याउने सपना

नेपाली समुदायलाई दुःखमा पर्याप्त समय दिने उनको योजना छ । २००७ मा स्थापना भएको एनआरएनए क्यानडा आज १८ वर्ष पुरानो संस्था भैसकेको छ । तर, १८ वर्षमा सो संस्था झोलामा अफिस राखेर संचालन भइरहेको छ । सापकोटा भन्छन्, ‘एनआरएनए क्यानडाको आफ्नो स्थायी ठेगाना छैन्, हामी यहाँ छौं भनेर स्थायी रुपमा संस्थाको ठेगाना बताउँन म चाहन्छु ।’ झोलाको कार्यालय विस्थापन गरेर क्यानडामा आफ्नै माटो किनेर ‘बिल्डिङ’ तयार गर्ने योजना जगनले बनाएका छन् । उनी भन्छन्, ‘कसैको घरमा भाडा होइन कि, आफ्नै माटो किनेर बिल्डिङ बनाएर संस्थालाई बलियो बनाएर जानुपर्छ ।’ आसन्न निर्वाचनको मुख्य एजेन्डा उनले त्यसैलाई बनाएका छन् ।

नागरिकताको सवालमा एकढिक्का भएर एनआरएन क्यानडाबाट आवाज ‘बुलन्द’ गर्ने योजना जगनले यहाँको समुदायमा पस्केका छन् । उनी भन्छन्, ‘नेपाल सरकारसँग पनि लबिङ गरेर एकपटकको नेपाली सधैंको नेपाली भन्ने मुल नारालाई व्यवहारमै उतार्ने योजना छ ।’ क्यानडामा न्यु कमरको रुपमा आउनेहरुलाई यहाँका पुरानाहरुको सहयोग आवश्यक पर्छ । वर्क परमिट लिएर आउनेहरु र विद्यार्थीहरुलाई पनि एनआरएनएको सहयोग चाहिन्छ । त्यस्तोमा न्यु कमरहरुका लागी एनआरएन क्यानडाले ‘टास्क फोर्स’ बनाएर काम गर्नुपर्ने सापकोटा बताउँछन् ।

समुदायप्रति समर्पण: एजेन्डा, सहयोग र संरचना

विद्यार्थीहरु नेपालबाट आउँदा नै एउटा सर्तमा बाँधिएर आउने हुनाले क्यानडाका शिक्षण संस्था र सरकारसँग कमिटमेन्ट गरेको विषय भन्दा बाहेक अन्य विषयमा सहयोग गर्नेगरी एनआरएनएले काम गर्नुपर्ने उनको भनाई छ । सापकोटा भन्छन्, ‘नेपाली साथिहरुलाई विभिन्न किसिमका सेमिनार, गोष्ठी, वेबिनार जस्ता कार्यक्रमहरु सञ्चालन गरेर त्यसमार्फत आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्छौं ।’ एनआरएनएले आयोजना गरेको सभा, सेमिनार, गोष्ठी र वेबिनारहरुबाट नेपालीहरुले पेशा–व्यवसायप्रति लाभान्वित हुन सक्ने सचेतनामुलक कार्यक्रम लिएर जानुपर्ने सापकोटा बताउँछन् ।

विद्यार्थी जीवनमा बिएड तथा मास्टर डिग्री अध्ययन पुरा गरेपछि सापकोटाले काठमाडौंमा क्याम्पस पढाउन थाले । कलेज पढाउँदै उनले राजधानी दैनिकमा भाषा सम्पादक भएर काम गरे । करिब ८ वर्ष राजधानी दैनिकमा काम गरेका सापकोटाले गाउँबाट आएका बिरामी र विदेश जान भनेर आएकाहरुलाई आफ्नो कोठामा राख्ने र उनिहरुको सुख, दुःखमा सहयोग गर्दै उनले समाजसेवा सिकेका हुन् । त्यहि हुटहुटिले अहिले उनि एनआरएनए क्यानडाको नेतृत्व खोज्दैछन् । पत्रकारीता छाडेर क्यानडा आएका उनले २०१५ मा एनआरएनए क्यानडाको आजीवन सदस्यता प्राप्त गरेका थिए ।