राधा खनाल ।
२३ र २४ को जेन-जी आन्दोलनले दुई तिहाइको सरकार त विस्थापित गर्यो तर मुलुकको नेतृत्व कसले हाँक्ने र राजनीतिक अन्योलताबाट मुलुकलाई कसले ‘सेफ ल्यान्डिङ’ गर्ने भन्ने अन्योलता विद्यमान थियो।
अन्योलताको भुँमरीमा अप्ठ्यारो अवस्थाको जिम्मेवारी काँधमा बोक्न तयार भइन्– पूर्वप्रधानन्यायाधीश सुशीला कार्की। उनी नेतृत्वको अन्तरिम सरकारलाई ६ महिनामा चुनाव गरेर मुलुकको संवैधानिक र राजनीतिक प्रक्रियालाई ‘ट्र्याक’ मा ल्याउने मूल दायित्व थियो। तर,आशंका र त्रास पनि उस्तै थिए। तर,निडर स्वाभावकी कार्की कत्ति पनि डग्मगाइनन्। चुनावको मिति नजिकिँदै जाँदा सहकर्मीहरू फुत्तफुत्त जिम्मेवारी छोडेर चुनाव लडन गए। तर,कार्कीले राष्ट्रिय दायित्व र जिम्मेवारीलाई पूरा गर्ने अठोट कायमै राखिन्।
तोकिएको समयमै निर्वाचन हुने या नहुने भन्ने चौतर्फी आशंकाका बीच बिहीबार सरकारले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको छ। जेन-जी विद्रोह भएको ६ महिना नपुग्दै मुलुक यति छिट्टै संवैधानिक र राजनीतिक प्रक्रियामा फर्केला भन्ने सायदै कल्पना थियो। यस्तोमा कुनै राजनीतिक टेकोबिना अर्थात् राजनीतिक अनुभवबिनाकी प्रधानमन्त्री कार्कीले ऐतिहासिक जिम्मेवारी पूरा गरेकी छन्। अझैभन्दा अविश्वासको घेरामा रुमल्लिएको देशलाई न्यायिक पृष्ठभूमिबाट आएकी उनी दबाबसामु अविचलित रहिन् र मूलतः निष्पक्षता कायम राख्न सफल भइन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन गराएर निकास दिन सफल भएकी छन्। प्रधानमन्त्री कार्कीले बिहीबार काठमाडौं–५ बाट मतदान गरिन् र भनिन्,‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ,म अत्यन्त खुसी छु।’ सबैभन्दा महत्वपूर्ण पक्ष त,जे गर्छु भनेर कार्कीले जिम्मेवारी काँधमा बोकेकी थिइन्। त्यो काम भव्यतापूर्वक सम्पन्न गरिन्। ठूला राजनीतिक दलका नेताहरू, खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले त केही साता अघिसम्म चुनाव हुँदैन भनेर दाबी गरिरहेका थिए।
आफूले भनेजस्तो नभए चुनाव हुनै दिँदैनौं भनेर सुदन गुरुङलगायत जेन-जी अगुवाहरू धम्क्याउँथे। आज यी दुवै पात्र प्रत्यक्ष उम्मेदवार बनेर चुनाव लडिरहेका छन्। छिटपुट घटनाबाहेक शान्तिपूर्वक मतदान सम्पन्न गराएकी कार्की भने नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने संघारमा छिन्।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की भदौ २७ गते प्रधानमन्त्री बनेकी थिइन्। यो बीचमा प्रधानमन्त्री कार्कीको नियुक्तिमा राष्ट्रपति रामचन्द्र पौडेलको अभिभावकीय भूमिका थियो।
संक्रमणकालीन अवस्थाबाट मुलुकलाई निकास दिँदै संवैधानिक ट्र्याकमा राख्ने जिम्मेवारी राष्ट्रपति रामचन्द्र पौडेलको काँधमा आएको थियो। संविधानको संरक्षकसमेत रहेका राष्ट्रपतिले मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्दै सिंगो मुलुकलाई सम्हाल्ने भूमिका खेले। जुन भूमिकाको जगले आज मुलुकमा चुनाव भयो।
भदौ २४ मा जेन-जी आन्दोलन थप चर्र्किएपछि मुलुकका तीनवटै अंगका भौतिक संरचना जलेर नष्ट भए। करिब राज्यविहीनताको अवस्था थियो। संसद्बाट नयाँ सरकार बन्ने सम्भावना तत्काल थिएन। संविधानको धारा ७६ ले संसदभित्रैबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था गरेको थियो। तर आन्दोलनकारीहरूले दलहरूको वैधतामाथि नै प्रश्न उठाएपछि तिनै दलहरू संलग्न रहेको संसदीय प्रक्रियाबाट समाधान सम्भव देखिएन।
यही अवस्थामा राष्ट्रपति पौडेलले संवैधानिक कानुनविद्हरूसँग परामर्श गर्दै संविधानको धारा ६१ (४) मा उल्लेखित संविधानको संरक्षण गर्ने राष्ट्रपतिको कर्तव्यलाई आधार बनाएर प्रक्रिया अघि बढाए। ‘तपाईंलाई दिएको जिम्मेवारी समयमै पूरा गर्नु हुनेछ’ भन्ने विश्वास छ भनेर शुभकामना दिएका थिए।
बिहीबार निर्वाचन सकिएपछि प्रधानमन्त्री कार्कीलगायत सम्पूर्ण निकायलाई धन्यवाद दिँदै राष्ट्रपति पौडेलले भनेका छन्,‘शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन्। त्यसो त कार्कीलाई नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँगै निर्वाचन आयोगको साथले सिंगो संवैधानिक प्रक्रिया अवरुद्घ हुनबाट जोगिएको छ।
निर्वाचनको एक साता अघिसम्म प्रतिनिधिसभाको निर्वाचन शान्त,सुव्यवस्थित र समग्र रूपमा सम्पन्न होला भन्ने विश्वास पनि कमैमा थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले चुनाव सकिएलगत्तै प्रधानमन्त्री कार्कीको प्रशंसा गर्दै सामाजिक सञ्जालमा लेखे,‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ।’
प्रधानमन्त्री कार्कीलाई जेन-जी आन्दोलनमा ७६ जनाको ज्यान गएको र अर्बौंको भौतिक क्षति भएको घटनाको दोष अघिल्लो सरकारमाथि थोपर्न दबाब थियो। अर्कोतिर पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय आयोगले २३ र २४ गतेका घटनाबारे छानबिन गरेको प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भन्दै आलोचना पनि भइरहको छ। तर त्यो शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन गराउनका लागि थियो भन्ने तर्फ पनि अहिले चर्चा सुरु भएको छ।
जनता र अन्य दलका नेतामा अविश्वास पनि के थियो भने जेन-जी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेसँगै केही कैदीबन्दीहरू फरार थिए। कति कैदीहरूले गाउँगाउँ पसेर हिंसा पनि भड्काइरहेका थिए। सुरक्षाकर्मीको मनोबल गिराइएको थियो। प्रहरी चौकीहरू तोडफोड गरिएको थियो। हातहतियार लुटिएका थिए। राजनीतिक दलका शीर्ष नेताहरूले एक महिना अगाडिसम्म अन्योलपूर्ण वातावरण थियो। नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट सरकार प्रतिप्रश्न उठाउँदै भनेका थिए। ‘सरकारले चुनावका सुरक्षाको वातावरण बनाउँछ भन्नेमा हामीलाई आशंका छ। विश्वास दिन सकेको छैन।’
उता प्रधानमन्त्री कार्की भने आफूले चुनावी म्यान्डेट पाएको सरकार भएको कारण पनि जसरी भए पनि शान्तिपूर्ण वातावरण बनाएर निर्वाचन गराउनेमा प्रतिबद्घ थिइन्। राजनैतिक दलहरू भने निर्वाचन आयोगले बोलाएका तयारी बैठकहरूमा प्रमुख तीन दलका शीर्ष नेताहरू सहभागी हुन अस्वीकार हुन्थेनन्। प्रमुख दलका शीर्ष नेताहरूले घृणा र उत्तेजना फैलाउने खालका अभिव्यक्ति दिने गर्थे।
ती सबै अवस्था पार गर्दै प्रधानमन्त्रीले असन्तुष्ट पक्षका गुनासो सुन्दै,शीर्ष नेतासँग एक्लाएक्लै संवाद गर्दै ध्वस्त भएको देशको सिंहदरबारभित्र जिम्मेवारी परिपक्व ढंगले सम्हालिन्। गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनालको परिपक्व साथले ताजा जनादेश देशलाई दिनका लागि सफल भएकी छन्।
नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदानमामार्फत जनताले देखाएको उच्च सहभागिता,संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको बताएका छन्। उनले अगाडि भनेका छन्,‘एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजताततर्फ लैजान घोषणा भएको प्रतिनिधिसभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण,सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ। आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास छ।’
यो बीचमा निर्वाचनको अघिल्लो दिन र निर्वाचनको दिन तिनै प्रधानमन्त्री कार्कीलाई सौहार्दपूर्ण वातावरणमा चुनाव गराएको भन्दै बधाई दिएका छन्। कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री कार्कीलगायतको टिमलाई बधाई र धन्यवाद दिँदै भनेका छन्,‘प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ।’
उनले अगाडि भनेका छन्,‘शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार प्रधानमन्त्री सुशीला कार्कीज्यू र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहान्छौं।’ एकातिर संक्रमणकालीन,संवेदनशील र सीमित अधिकारको कार्यकाल थियो। उनले सीमित स्रोतसाधन,तीव्र दलीय धु्रवीकरण र निराश जनभावनाको बीचमा सरकार सम्हालेकी थिइन्। स्थिर र सहज परिस्थितिमा निर्वाचन गराउनु सामान्य प्रशासनिक प्रक्रिया हो। तर अविश्वास,सुरक्षा चुनौती,स्रोत अभाव र देश नै शोकमा डुबेको बेला अन्योलग्रस्त अवस्थामा निर्वाचन सम्पन्न गराउनु भनेको नेतृत्वको वास्तविक परीक्षा हो भन्दै अर्की एक जेन-जी अभियन्ता रक्षा बमले पनि प्रधानमन्त्री कार्कीसँगै राष्ट्रपतिलाई समेत बधाई दिएकी छन्।
प्रधानमन्त्री कार्कीले त्यही भूमिका कौशलपूर्वक निर्वाह गरिन्,जसले संकटमा प्राप्त जिम्मेवारी मात्र पूरा गरिनन्। मुलुकलाई निकाससमेत दिइन्। सुरक्षा तथा सुशासन विश्लेषक अभयराज जोशीले नेपालमा लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वासलाई अझ गहिरो बनाएको प्रतिक्रिया दिँदै भनेका छन्,‘आगामी दिनमा यो म्यान्डेटले नीति निर्माण,सुशासन र शासन प्रणालीलाई जनताको आकांक्षासँग जोड्ने अपेक्षा गरिएको छ। ‘यस निर्वाचनले नेपालमा एक गजबको सन्देश दिएको छ। नेपालमा पछिल्लो समय गैरदलीय सरकारको उपयुक्ततता देखिएको छ भने सुरक्षा निकायहरूको भूमिकाले लोकतान्त्रिक प्रक्रियालाई थप विश्वसनीय बनाएको छ।’
क्यानाडा नेपाल










