Canada Nepal News

काठमाडौं । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा धेरै दलका अध्यक्ष-सभापति नै पराजित भएका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको मत परिणाम अनुसार हालसम्म तीन दलका अध्यक्ष-सभापतिले मात्र संसदको यात्रा तय गरेका छन् ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन–२ बाट ५४ हजार ४०२ मतसहित तेस्रो पटक संसद प्रवेश गरेका छन् । उनले निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी मिनाकुमारी खरेललाई भारी मतले पराजित गर्दै संसदमा ‘ह्याट्रिक’ गरेका हुन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि निर्वाचन जितेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पाँचौं पटक निर्वाचन क्षेत्र बदल्न यस पटक रुकुम पूर्वबाट १० हजार २४० मतसहित निर्वाचित भएका हुन् । प्रचण्डले निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लिलामणि गौतमलाई हराउँदै संसदको यात्रा तय गरेका हुन् । यस्तै सुनसरी–१ बाट निर्वाचित हुँदै श्रम सँस्कृति पार्टीका अध्यक्ष हकराज राई पनि संसद छिरेका छन् ।

माटो चुनाव चिन्हका राई ३५ हजार ७४१ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । धरान उपमहानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर चुनावमा होमिएका हर्कराज राईले निटकतम प्रतिष्पर्धी रास्वपाकी गोमा तामाङलाई हराउँदै संसदको यात्रा तय गरेका हुन् ।

देशभर रास्वपाको जितको लहर चल्दा यस पटकको निर्वाचनबाट हालसम्म नौं वटा दलका अध्यक्ष÷सभापति नै पराजित भएका छन् । जसमा शीर्ष राजनीतिक दलदेखि मधेसमा राजनीतिक प्रभाव पार्ने दलका अध्यक्ष÷सभापतिहरु समेत छन् । झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पराजित भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र) शाहसँग भारी मतले पराजित भएका हुन्। भावी प्रधानमन्त्रीको दावीसहित मैदानमा उत्रिएका बालेन शाहले ६८ हजार ३४८ मतसहित चुनाव जित्दा निकटतम प्रतिष्पर्धी एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमै सीमित भए ।

यस्तै भावी प्रधानमन्त्रीको दावीसहित साविकको काठमाडौं क्षेत्र नम्बर–४ छाडेर मधेसको सर्लाही–४ मा चुनाव लड्न पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा समेत यस पटक संसद छिर्नबाट रोकिएका छन् । सभापति थापा सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएसँगै संसदको यात्रा रोकिएको छ ।

काठमाडौंबाट लगातार तीन पटक निर्वाचन जित्दै संसद छिरेका गगनलाई यस पटक रास्वपाका नवप्रवेशी अमरेशले ‘ब्रेक’ लगाई दिएका छन् । अमरेको अवरोधका कारण गगनको प्रधानमन्त्री बन्ने सपना विपनामा परिणत हुन पाएन । अमरेशले ३५ हजार ६८८ मत ल्याएर निर्वाचित हुँदा निकत प्रतिष्पर्धी थापा २२ हजार ८३१ मतमै सीमित भए । मधेसबाटै राजनीतिमा उदाएका धेरै दलका अध्यक्ष-सभापति यस पटक संसद छिर्नबाट रोकिएका छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट पराजित भएका छन् । उनलाई रास्वपाका अमरकान्त चौधरीले हराएका हुन् । चौधरीले ३२ हजार ८७५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिष्पर्धी यादवले १५ हजार २३९ मत मात्र ल्याए ।
यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सप्तरी–२ बाट पराजित भएका छन् । रास्वपाका रामजी यादवले २८ हजार ४०४ मत ल्याएर विजयी बन्दा राउत ९,८८० मत मात्र ल्याएर तेस्रो स्थानमा मात्रै सीमित भए ।

यस्तै राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष तथा पूर्व आईजीपी सर्वेन्द्र खनाल बारा–४ बाट पराजित भएका छन् । उनी रास्वपाकै रहवर अनसारीसँग पराजित भएका छन् । बारा–४ नै रोजेर रास्वपासँग पराजित हुनेमा राष्ट्रिय निर्माण दल नेपालका अध्यक्ष समिम मियाँ अन्सारी समेत छन् । अन्सारी नेपाल मुस्लिम आयोगका पूर्व अध्यक्ष पनि हुन् ।

स्वतन्त्र सांसद जितेर आम जनता पार्टी स्थापना गरेका अध्यक्ष प्रभु साह रौतहट–३ मा पराजित भएका छन् । रौतहट–३ बाट प्रतिनिधि सभा सदस्यमा रास्वपाका रवीन्द्र पटेल निर्वाचित भएका छन् । पटेलले २७,३१८ ल्याएर संसद छिर्दै गर्दा आजपा अध्यक्ष साह ९,८९० मत ल्याएर तेस्रो मात्र भएका छन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो सर्लाही–२ बाट पराजित भएपछि संसद छिर्नबाट रोकिएका छन् । नतिजामा उनी चौंथो मात्र भएका छन् । यहाँ रास्वपाका रविन महतो ४२ हजार ५ सय १२ मतसहित निर्वाचित भएका छन् । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी महोत्तरी–३ बाट पराजित भएका छन् ।

यहाँ रास्वपाका उज्ज्वलकुमार झा ३२ हजार ४५१ मत प्राप्त गरी विजयी भएका छन् । मधेशका ८ जिल्लामा ३२ निर्वाचन क्षेत्र छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मधेशमा एमालेले १०, जसपाले ६, लोसपाले ३ र जनमत पार्टीले एक सिट जितेको थियो । त्यसैगरी नेपाली कांग्रेसले ७, नेकपा माओवादीले ३ र दुई जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।