
काठमाडौं । जेनजी (१३ देखि २८ वर्ष) उमेर समूहका युवाहरुको आह्वानमा भएको सामाजिक सञ्जाल निषेध गर्ने, भ्रष्टाचार र कुशासनविरुद्व भदौ २३ गते भएको आन्दोलनमा राज्यले बर्बर दमन गर्यो । राज्यको दमनपछि आक्रोशित भएको भीडले भदौ २४ गते बिहानैदेखि देशैभर तोडफोड र आगजनी गर्यो ।
मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्रीको सरकारी निवास, प्रधानमन्त्रीको निजी निवास, पूर्वप्रधानमन्त्री निवास, अन्य नेता र मन्त्रीहरुको निवास, सयौं प्रहरी चौकी, देशभरका अधिकांश सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयहरु क्षणभरमै ध्वस्त भए । हजारौं व्यक्तिका निजी सम्पत्ति ध्वस्त पारियो।
निजी क्षेत्रका उद्योगी व्यवसायीमाथि छानिछानि आक्रमण गरिएको छ । देशकै एकमात्र डलर अर्बपति विनोद चौधरीको निजी घर र कार्यालय लुटपाट पछि आगो लगाएर ध्वस्त पारियो । आधा दर्जनभन्दा बढी सवारीसाधान पूर्णरूपमा जलेर खरानी भए । मीनबहादुर गुरुङले बनाएका देशभरका १२ वटा भाटभाटेनी सुपरमार्केटमा लुटपाटपछि आगजनी गरियो भने अन्य आधा दर्जन भाटभाटेनीमा लुटपाट मच्चाइयो ।
चन्द्र ढकालको अगुवाइमा बने पनि आम सर्वसाधारणको लगानी रहेको पर्यटकीयस्थल चन्द्रागिरीमा तोडफोडपछि आगजनी गरियो । ढकालको मौलाकाली केबुलकारको बटम स्टेसन पनि आगो लगाएर ध्वस्त बनाइयो ।
अर्बौं लगानीमा बनेको शंकर ग्रुपको नक्सालस्थित पाँचतारे डिलक्स हिल्टन होटल लुटपाटपछि भएको आगजनीबाट ध्वस्त भयो।
अत्यावश्यक मानिने टेलिकम कम्पनी एनसेलको लैनचौरस्थित मुख्यालयमा आगजनी भएको छ ।
उद्योगी व्यवसायीले देशभित्रै उद्योग व्यवसाय गरी रोजगारी सिर्जना गरेर, कर तिरेर देशप्रति गरेको योगदानको कदर र सम्मान लुटपाट र आगजनीले कसरी हुन सक्छ ?
उद्योगी शेखर गोल्छाको घरमा तोडफोड गरियो भने ४ वटा गाडी जलाइयो । अर्का उद्योगी सञ्जय गोल्छाको घर जलाएर ध्वस्त पारियो ।
बसन्त चौधरीको ठमेलस्थित घरमा पनि तोडफोड भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष व्यवसायी उपेन्द्र महतोको आवासमा समेत प्रदर्शनकारीले लुटपाट, तोडफोड र आगजनी गरे ।
थापाथलीस्थित टाटा, हुन्डाइ, महिन्द्रा र सिजी मोटर्सको शोरुम जलाएर ध्वस्त पारियो । कान्तिपुर पब्लिकेशनको कार्यालय रहेको सेन्ट्रल पार्क जल्यो । सेन्ट्रल पार्कमा रहेको राजेश अग्रवालको आरएमसी ग्रुपको कार्यालयमा क्षति पुग्यो । बैंकका आधादर्जन बढी शाखा र एटीएम बुथमा तोडफोड र लुटपाट भयो ।
रामेश्वर थापाको सिम्रिक एयर, अन्नपूर्ण पोष्टको कार्यालय र थापाको काभ्रेस्थित घर पनि प्रदर्शनकारीले आगजनी गरी ध्वस्त बनाए ।
व्यवसायी पवन गोल्यानको कार्यालय गोल्यान टावरमा र राजेन्द्र बजगाईंको बालुवाटारस्थित वर्णवास होटल र बत्तीसपुतलीस्थित मारवाडी सेवा समितिको टावरमा आक्रमण भयो ।
पूरानो बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टमा आक्रमण भएको छ । पोखराको बगैँचा रिसोर्ट र लगानीकर्ता विन्दुकुमार थापाको निवासमा आक्रमण गरिएको छ ।
देशभर विभिन्न व्यवसायिक प्रतिष्ठान र निजी घर ध्वस्त पारिएको छ । उद्योगी व्यवसायीले देशभित्रै उद्योग व्यवसाय गरी रोजगारी सिर्जना गरेर, कर तिरेर देशप्रति गरेको योगदानको कदर र सम्मान लुटपाट र आगजनीले कसरी हुन सक्छ ?
गभर्नर विश्वनाथ पौडेलको भैंसेपाटी र चितवनमा रहेको घर जलाएर ध्वस्त पारियो । अख्तियार प्रमुख प्रेम राई र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाको घरमा पनि तोडफोड गरियो । गाउँदेखि सहरसम्म सार्वजनिक र निजी सम्पत्तिमा आगजनी र तोडफोड गरियो । हजारौं सवारीसाधन ध्वस्त पारियो ।
यसरी सार्वजनिक र निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीमा खर्बौंको सम्पत्ति ध्वस्त पारियो। यसको पुनर्निर्माण भावी दिनका लागि निकै ठूलो चुनौति हुने निश्चित छ । हाम्रो अर्थतन्त्रले थेग्नसक्ने अवस्था छैन । यसले देशलाई ५०औं वर्षपछि धकेलेको छ । उद्योगी व्यवसायीको निजी घर-गाडी र उद्योगमा भएको तोडफोड र आग्जनीले तत्कालको अर्बौंको क्षति मात्रै भएन, उनीहरुको मनोबल पनि ध्वस्त भयो । उद्योगी व्यवसायीको ध्वस्त भएको मनोबल उकास्न त्यति सजिलो छैन ।
अबको नेतृत्वले जनता र राष्ट्रिय पुँजीपतिहरुको मनोबल बढाउन सकेन भने अहिलेका शासकहरु केपी ओली-शेरबहादुर देउवा लगायतले जे नियति भोगे, केही वर्षपछि तपाईंहरुले पनि यस्नै नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।
आफ्ना राजनीतिक माग पूरा गर्न निजी सम्पत्ति ध्वस्त पार्ने काम जोसुकैले गरे पनि त्यो निन्दनीय छ । राजनीतिक नेतृत्व गर्छु भनेर अघि सरेको युवा पुस्ताबाटै विगतमा कांग्रेस-एमालेजस्ता पूराना दलले नगरेको काम ‘आगजनी र तोडफोड’ गरेर समाजलाई आतंकित बनाएका छन् । आतंकित समाजबाट सुशासन र आर्थिक सम्मृद्वि निकै कठिन छ ।
जेनजी पुस्ता सरकारमा आउने निश्चित छ तर सरकार चलाउन मन्त्री, प्रधानमन्त्री बस्ने ठाउँ छैन । कर्मचारी बस्ने ठाउँ छैन । जनतालाई सेवा दिने मालपोत, यातायात, पालिका र वडा कार्यालयहरु ध्वस्त पारिएका छन् । प्रिय जेनजी, तपाईंको पुस्ताको नेतृत्वमा बन्ने सरकारले अब कहाँ बसेर जनतालाई सेवा दिन्छ ?
उद्योगी व्यवसायीहरुले लाखौंलाई रोजगारी दिएका छन्, राज्यलाई खर्बौं कर तिरेका छन् । रोजगारी र कर बिना राज्य सञ्चालन हुन सक्दैन भन्ने कुरा जेनजी पुस्ताले अझ बढी बुझ्नुपर्ने हो । किनभने, बढ्दो बेरोजगारी र आम नागरिकको आम्दानी बढ्न नसक्दा नेपाली समाज खासगरी युवा पुस्तामा चरम वितृष्णा र आक्रोश सडकमा पोखिँदा देश तहसनहस भएको हो ।
पूराना पुस्ताका नेताबाट आर्थिक सम्मृद्वि असंभव थियो । यस्तो अवस्थामा निश्चय पनि देशमा शान्तिपूर्ण आन्दोलन आवश्यक थियो राजनीतिक र आर्थिक रुपान्तरणका लागि । तर भदौ २४ गतेको घटना जेनजीको उद्देश्य र नियन्त्रणबाट बाहिर गएको देखिन्छ । धमिलो पानीमा माछा मार्न सक्रिय तत्वहरुको घुसपैठले देशले अपुरणीय क्षति ब्यहोरेको छ । यसमा दुर्गा प्रसाईं समूहको संलग्नता भएको आशंका छ । अब बन्ने सरकारले त्यस्तो अपराध कर्ममा संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउनू पर्छ । तब मात्र आम समाजमा फैलिएको आतंक केही मथ्थर हुन्छ । र गुमेको विश्वास क्रमश: फर्किँदै जान्छ । अहिले देशमा विश्वासको खडेरी छ, जेनजी पुस्ताले समाज र उद्योगी व्यवसायीको मनोबल उकास्न सक्नु पर्छ । होइन भने यो देशमा कसैले थप लगानी गर्ने छैन । भएको पुँजी विस्तारै पलायन गर्दै लैजाने छन् ।
नयाँ लगानी भएन भने थप रोजगारी सिर्जना हुँदैन । रोजगारी सिर्जना नभएपछि थप युवाहरु विदेश पलायन हुनेछन् । देशलाई भोकमरीले सताउन सक्नेछ । भोकमरीबाट बाँच्न लुटपाट मच्चिने खतरा पनि उत्तिकै हुनेछ । जसले वितृष्णा र आक्रोश बढाउनेछ । अहिले तपाईंहरुले आह्वान गर्दा जसरी लाखौं युवाहरु सडकमा आए र २४ घन्टामै सत्ता ढल्यो । अबको नेतृत्वले जनता र राष्ट्रिय पुँजीपतिहरुको मनोबल बढाउन सकेन भने अहिलेका शासकहरु केपी ओली-शेरबहादुर देउवा लगायतले जे नियति भोगे, केही वर्षपछि तपाईंहरुले पनि यस्नै नियति भोग्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन ।
संयमित भएर सिंगो समाजलाई एकतावद्व गर्दै अघि बढ्नु आजको आवश्यकता हो । भदौ २५ र २६ गते सरकार गठनका विषयमा जेनजीबीच देखिएको विवादले आगामी दिन सहज छैनन् भन्ने प्रष्ट संकेत गरेको छ । तातो रगतले मात्रै देश बन्दैन, देश बनाउन प्रष्ट भिजन भएको र संयमता अपनाउने चतुर र सर्वस्वीकार्य नेता चाहिन्छ । जुन अहिलेको जेनजीले देखाउन सकिरहेका छैनन् ।