अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) अफ्रिकाले अफ्रिकी मुलुकहरूमा रहेका नेपाली दूतावासहरूको संख्या घटाउने वा पुनर्संरचना गर्ने नेपाल सरकारको तयारीप्रति गम्भीर चासो व्यक्त गरेको छ।
फिने अफ्रिकाका क्षेत्रीय अध्यक्ष रामप्रसाद पाध्याद्वारा जेठ २३ गते (जुन ५) जारी विज्ञप्तिमा सरकारले खर्च कटौती तथा प्रशासनिक दक्षता अभिवृद्धिका लागि चाल्न लागेको कदमलाई सकारात्मक रूपमा बुझे पनि दूतावासहरू बन्द वा सीमित गर्दा अफ्रिकामा रहेका नेपाली नागरिक, उद्यमी, विद्यार्थी तथा श्रमिकहरूलाई प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार नेपाली दूतावासहरूले केवल कूटनीतिक सम्बन्ध विस्तार गर्ने मात्र नभई व्यापार सहजीकरण, लगानी प्रवर्द्धन, कानुनी परामर्श तथा नेपाली समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। त्यसैले अफ्रिकामा नेपालको कूटनीतिक उपस्थिति कमजोर पार्ने कुनै पनि निर्णयले व्यापारिक सम्बन्ध र अन्तर्राष्ट्रिय कूटनीतिक प्रभावमा नकारात्मक असर पार्न सक्ने फिने अफ्रिकाको धारणा छ।
संस्थाले विशेष गरी अफ्रिकी राष्ट्रहरूमा कार्यरत नेपाली कामदार, विद्यार्थी तथा व्यवसायीहरूले कन्सुलर सेवा प्राप्त गर्न थप कठिनाइ भोग्नुपर्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको छ।
फिने अफ्रिकाले नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयलाई कुनै पनि अन्तिम निर्णय अघि दीर्घकालीन प्रभावको गम्भीर मूल्याङ्कन गर्न, विदेशस्थित नेपाली समुदाय र व्यावसायिक संस्थाहरूसँग व्यापक परामर्श गर्न तथा आवश्यक कूटनीतिक पहुँच कायम राख्दै खर्च व्यवस्थापनका वैकल्पिक उपायहरू खोज्न आग्रह गरेको छ।
अध्यक्ष पाध्याले अफ्रिकामा नेपाली दूतावासहरूको उपस्थिति नेपाली नागरिकको सुरक्षा, आर्थिक हित र नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढीकरणका लागि अपरिहार्य रहेको बताएका छन्।
नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै सेना तथा प्रहरी योगदान गर्ने मुलुकहरूमध्ये एक हो, जहाँ अधिकांश नेपाली शान्ति सैनिकहरू अफ्रिकी मुलुकहरूमा कार्यरत छन्। साथै पछिल्ला वर्षहरूमा अध्ययन, तालिम, रोजगारी तथा व्यवसायका अवसरका लागि अफ्रिका पुग्ने नेपालीहरूको संख्या पनि निरन्तर बढ्दै गएको छ।
करिब दुई दशकदेखि अफ्रिकामा सक्रिय रहेका अध्यक्ष पाध्याले त्यहाँ नेपालीहरूको बढ्दो उपस्थिति, प्रभाव तथा त्यसले नेपालको अन्तर्राष्ट्रिय छविमा पारेको सकारात्मक योगदानलाई नजिकबाट अवलोकन गर्दै आएको बताएका छन्।

संवाददाता









