Canada Nepal News

बेइजिङ डायरी

चिनियाँहरूले यही फेब्रुअरी १७ तारिख, (फागुन ५ गते) नयाँ वर्ष मनाउँदैछन्। यो दिन उनीहरू सर्प वर्षलाई बिदा गरेर घोडा वर्ष भित्र्याउँछन्।

यो लेखमा चिनियाँ नयाँ वर्षबारे केही अनौठा चलन र प्रचलित कथाहरूको चर्चा गरिएको छ।

चिनियाँ परम्परागत नयाँ वर्षलाई ‘छुनच्ये’ भनिन्छ। ‘छुन’ भनेको वसन्त हो र ‘च्ये’ भनेको चाड। त्यस कारण चिनियाँ नयाँ वर्षलाई ‘छुनच्ये’ अर्थात् वसन्त चाड भनिएको हो।

यो चिनियाँहरूको सबैभन्दा ठूलो पर्व पनि हो। यसबारे निकै घतलाग्दा चिनियाँ लोककथाहरू छन्।

सबभन्दा लोकप्रिय लोककथा अनुसार एउटा ‘नियान’ नामको डरलाग्दो राक्षस थियो। उक्त नियान राक्षस वसन्त ऋतुमा गाउँमा देखापर्थ्यो र सबै मानिसलाई दुःख दिन्थ्यो। वसन्त ऋतु लागेपछि गाउँबाट मानिसहरू त्राहीमाम हुन्थे। यस्तो घटना सधैं दोहोरिन्थ्यो।

एक दिन कुनै साधुले राक्षसको कमजोरीबारे गाउँलेलाई सुनाइ दिए। उक्त नियान राक्षस चर्को आवाज, रातो रङ र आगोसँग डराउँथ्यो। त्यसपछि वसन्त ऋतुमा गाउँलेहरूले पटका पड्काउँदै चर्को आवाज निकाल्न, ढोल बजाउन र हल्लाखल्ला गर्न थाले।

त्यति मात्र होइन, उनीहरूले रातो कागजले सजाएको लालटिन घरघरमा झुन्ड्याए र जताजतै रातैरातो सजावट गरेर आफ्ना घरआँगन झकिझकाउ बनाए। आतिशवाजी गर्दै रातभर आगो बालेर जाग्राम बसे। त्यसपछि नियान राक्षस गाउँमा आउन छोड्यो।

चिनियाँ समाजमा पाँच हजार वर्षदेखि यो चलन अहिले पनि चलिरहेको छ। चिनियाँ नयाँ वर्ष मनाउन लालटिनको सजावट आधारभूत आवश्यकता नै हो। लालटिन नभइकन चिनियाँ नयाँ वर्षको अर्थ रहँदैन।’

वसन्त चाड मनाउँदै
गाउँघर, सहरबजार, कलकारखाना, विद्यालय, कार्यालय, गल्ली तथा सार्वजनिक पार्क सबैतिर लालटिन र रातो डोरीबाट बनाइएको विशेष प्रकारको गाँठो झुन्ड्याउने चलन छ।

पहिले नयाँ वर्ष सुरू हुनुभन्दा एक साता अगाडिदेखि चोकचोकमा टेन्ट टाँगेर पटका बेच्न सार्वजनिक सेवाहरू खुलेका हुन्थे। कार्यालयहरूमा कर्मचारीलाई बाकसभरि पटका उपहार दिइन्थ्यो।

नयाँ वर्षको अघिल्लो अन्तिम रात रातभर पटका पड्काइन्थ्यो। आतिशवाजी र पटकाले बेइजिङको आकाश रातभर चम्कन्थ्यो। भोलिपल्ट, नयाँ वर्षको पहिलो दिन बेइजिङ सहरभरी पटकाको तुँवालोले धुम्म हुन्थ्यो।

त्यसैले वातावरण प्रदूषण रोक्न र सहरीय सुरक्षा तथा सभ्यता जोगाउन चीन सरकारले सन् २०१६ देखि पटका नपड्काउन आह्वान गर्दै यसको बेचबिखन र उपहार दिन बन्द गर्‍यो। त्यसपछि चिनियाँ नयाँ वर्षमा नगन्य मात्र पटका पड्किन्छन्।

जे होस्, राक्षस भगाउन पटका नपड्काए पनि रातो सजावट र नयाँ वर्षको अघिल्लो दिनको जाग्राम चिनियाँहरूले कायम राखेका छन्।

उक्त राक्षसको नाम नियान भएकाले नै चिनियाँहरू वर्षलाई नियान भन्छन्। नयाँ वर्षको शुभकामना भन्नुपर्दा ‘सिन नियान ख्वाइल’ भन्छन्। ‘सिन’ भनेको नयाँ हो र ‘नियान’ भनेको वर्ष हो अनि ‘ख्वाइल’ भनेको शुभकामना।

यस्तै राक्षसबारे चिनियाँ वसन्त चाडको अर्को पनि रोचक लोककथा छ।

यो कथामा पनि राक्षसको नाम नियान नै छ। नियान नाम गरेको एक नरभक्षी राक्षस समुद्रको पिँधमा बस्थ्यो। त्यो राक्षस हरेक वर्षको बसन्तको सुरूआतमा समुद्रबाट निस्किन्थ्यो। गाउँमा आक्रमण गर्थ्यो, खेतीपाती, पशुधन र मानिसलाई समेत खान्थ्यो। यो राक्षसले विशेष गरी एकान्त ठाउँमा बस्ने वृद्ध व्यक्ति र साना बच्चामाथि आँखा लगाउँथ्यो।

गाउँलेहरू डरले हरेक वर्ष वसन्त ऋतु सुरू हुने समयमा पहाडका चुचुरातिर लुक्न बाध्य हुन्थे।

गाउँमा एक जना वृद्ध महिला थिइन्। उनी राक्षसबाट भागेर पहाड चढ्न सक्ने अवस्थामा थिइनन्। उनी कुँजी थिइन् र हिँडडुल गर्न सक्दिन थिइन्। गाउँलेहरू सबै ढोका लगाएर पहाडतिर लुक्न जाने तयारी गर्दै थिए।

भाग्यशाली रातो गाँठो
त्यही समायमा गाउँमा एक व्यक्ति देखिए। उनले गाउँलेहरूसँग बास मागे। सबै जना ढोकामा आग्लो ठोकेर भागदौडमा भएकाले उनलाई कसैले वास्ता गरेनन्। अन्ततः ती व्यक्ति त्यही वृद्ध महिलाको झुपडीमा पुगे।

महिलाले बास त दिने तर राति राक्षस आएर आफूलाई खाने भएकाले पाहुनालाई राक्षसले मार्न सक्ने र पाहुनालाई मृत्युको मुखमा पुर्‍याएर पाप बोक्नु र्ने गुनासो गरिन्।

ती पाहुनाले वृद्धाको झुपडी बाहिरै बसेर रात कटाउँछु भने। वृद्धा सुतिसकेपछि ती पाहुनाले उनको झुपडीको ढोका र झ्यालमा राता कागजहरू टाँसिदिए। उनले आगो बाले र आकाशतिर चम्किलो उज्यालो छर्ने खालको झिल्काहरू उडाए। घरवरिपरि दियो बालेर उज्यालो बनाए। ती व्यक्तिले रातै लुगा लगाए।

जब नियान राक्षस गाउँमा आयो तब रातैरातो र आगो देखेर डरायो। आगो हातमा लिएर रातो लुगा लगाएको व्यक्ति देखेर राक्षस कुलेलाम ठोक्यो।

भोलिपल्ट पहाडको चुचुरातिर लुक्न गएका गाउँले फर्किए। वृद्धा महिला र ती पाहुनालाई जीवितै देखेर उनीहरू आश्चर्यचकित बने। पाहुनाले राक्षस भगाउने उपाय बताएपछि गाउँले खुसी भए र हरेक वर्ष राताम्मे हुने गरी घरआँगन सिँगार्न र पटका पड्काउन थाले। त्यसपछि राक्षस कहिल्यै पनि फर्किएर आएन।

नियान राक्षसलाई भगाएकाले चिनियाँ नयाँ वर्षको शुभकामना दिँदा ‘क्वो नियान ख्वाइल’ पनि भनिन्छ। ‘क्वो’ को अर्थ उफार्नु अथवा भगाउनु भन्ने हुन्छ भने ‘नियान ख्वाइल’ भनेको वर्षको शुभकामना। त्यस कारण ‘क्वो नियान ख्वाइल’ को अर्थ राक्षसलाई भगाएकामा शुभकामना भन्ने अर्थ लाग्ने गर्छ।

यसपछि रातो रङको कपडा पनि चिनियाँ वसन्त चाडको अर्को पक्षका रूपमा प्रचलनमा रह्यो।

यो फेब्रुअरीमा १२ वर्ष, २४ वर्ष, ३६ वर्ष, ४८ वर्ष, ६० वर्ष, ७२ वर्ष, ८४ वर्ष पुगेका हरेक चिनियाँले भित्री पोसाक रातो रङको लगाउँछन्।

सामान्यतः वसन्त पर्वको समयमा रातो लुगा लगाउनुपर्छ भन्ने मान्यता छ। त्यसमाथि यो घोडा वर्षमा जन्मिएका व्यक्तिले भित्री पोशाक, मोजा र पन्जा सबै रातो रङको लगाएमा शुभ, भाग्यशाली र लाभको प्रतीक हुन्छ भनिन्छ। त्यही भएर यति बेला चिनियाँ बजारमा राता रङका महिलाका भित्री पोशाक (ब्रा र पेन्टी) ले भरभराउ हुन्छ।

परम्परागत चिनयाँ नयाँ वर्षबारे अर्को पनि लोककथा प्रचलित छ। यो कथा चाहिँ भान्सा देवताको हो।

वसन्त चाडका अवसरमा बेच्न राखिएका पोसाक
वसन्त चाडमा चिनियाँहरूका भान्साका देउता स्वर्ग जान्छन् भन्ने विश्वास गर्छन्। नेपालीहरूको जस्तै चिनियाँहरूको पनि भान्सामा परिवारका गोप्य कुरा खुल्ने ठाउँ मान्छन्। यो कुरा लैंगिक विभेदी हो। भान्सामा महिलाहरू खासखुस गर्दै परिवार र आफन्तको कुरा काट्छन्, उनीहरू अरूका विरूद्ध षडयन्त्र पनि गर्न सक्छन्, खानामा जालझेल गर्छन् भन्ने विश्वास पुरातन चिनियाँ समाजमा छ।

नयाँ वर्षसँगै भान्साका देउता स्वर्गमा जाने भएकाले सबै कुरा भगवानलाई सुनाउँछन् भन्ने विश्वासले गर्दा सबै जना डराउँछन्। त्यस कारण नयाँ वर्षको अघिल्लो दिन चिनियाँहरू विभिन्न मिठाइ र परिकार बनाएर भान्साका देउतालाई खुसी बनाउँछन्।

एक हिसाबले भन्ने हो भने भान्साका देउतालाई घुस खुवाएर आफ्ना कमजोरी स्वर्गमा नलगिदिन पुकार्छन्। यो पुरानो चलन चिनियाँहरूमा अहिले पनि चलेकै छ। उनीहरू सबै भेला भएर मिष्ठान्न परिकार बनाएर भान्साका देउतालाई खुसी पार्दै खान्छन्।

परिवारका सदस्यहरू भेला भएर मिठो मसिनो खाने चलन नेपालीहरूको दसैंसँग मिल्दोजुल्दो छ।

वसन्त चाडका अवसरमा चिनियाँहरूको भान्सामा अनिवार्य पाक्ने विशेष परिकारमध्ये एउटा हो च्याउच। यो नेपाली मःमजस्तै हुन्छ। नेपाली मःम बाफमा पकाइन्छ भने च्याउच पानीमा डुबाएरै पकाइन्छ। आँटाको पिठोमा मासु अथवा तरकारी हालेर मःमजस्तै डल्लो बनाइन्छ।

कुनै कुनै च्याउचमा त सिक्का पनि राखिन्छ। जसको भागमा सिक्का भएको च्याउच पर्छ, ऊ सबभन्दा भाग्यमानी मानिन्छ। सिक्का भएको च्याउचलाई धन र समृद्धिको प्रतीक मानिन्छ।

त्यसैगरी अर्को महत्वपूर्ण परिकार हो नियन काओ। यसको अर्थ नयाँ वर्षको केक भन्ने हुन्छ। चामलको वा गहुँको पिठोमा गुलियो पदार्थ राखेर बाफमा पकाइन्छ। नियन काओ शब्दले नयाँ वर्ष समृद्ध हुनेछ भन्ने लाग्छ।

तेस्रो परिकार हो माछा। चीनमा माछालाई धन र सफलताको प्रतीक मानिन्छ।

अनि लामो आयु र उज्वल भविष्यको प्रतीक मान्दै लामो लामो चाउचाउ उमालेर खाइन्छ।

चिनियाँ नयाँ वर्षको अर्को रोचक कथा रातो थैलीको हो। चिनियाँ भाषामा ‘होङपाओ’ भनिने चलन धेरै पुरानो हो। यसको शाब्दिक अर्थको अनुवाद गर्दा ‘होङ’ भनेको रातो र ‘पाओ’ भनेको खाम हुन्छ। खाम भन्नाले चिठीपत्र हालिने भएकाले यहाँ खामभन्दा पनि थैली भन्नु उपयुक्त हुन्छ। किनभने यसमा पैसा अथवा सम्पत्ति हालिन्छ।

सजाइएका लालटिन
लोककथा अनुसार पहिले वसन्त पर्वको राति एउटा भूत आएर बालबालिकाको टाउकामा छुन्थ्यो। उसले छोएपछि बालबालिका बिरामी हुने, बरबराउने, खाना नखाने हुन्थे भने कसैको मृत्यु पनि हुन्थ्यो।

बालबालिका जोगाउन सबै गाउँलेले प्रार्थना गरे। तब एक परी आएर बालबालिकाको सिरानीमुनि चमचम चम्किने सिक्का राखिदिइन्। जब सुनसान रातमा भूत बालबालिकाको टाउकोमा छुन आयो, तब परीले सिरानीमुनि राखेको चम्किला सिक्का बज्न थाले। त्यहाँबाट जाज्वल्य प्रकाश पनि निस्किन थाल्यो। त्यसपछि त्यो भूत भागेर गयो। अनि बालबालिका कहिल्यै बिरामी भएनन्।

हजारौं वर्षदेखि चलेको यो चलन अहिले पनि चीनमा यथावत छ।

आफूभन्दा सानालाई वसन्त चाडमा पैसा दिने चलन दसैंमा दक्षिणा दिने चलनसँग मिल्दोजुल्दो छ। नेपालीहरूले दसैंमा बैंकबाट नयाँ नोट साटेर ल्याउने र दिने चलन जस्तै चीनमा पनि एक दशक अगाडिसम्म बैंकमा नयाँ नोट साट्न निकै लामा लाइन देखिन्थ्यो।

हिजोआज डिजिटल दुनियाँ भएकाले सबैलाई सहज भएको छ। अब बैंकमा गएर नयाँ नोट साट्नै पर्दैन। मोबाइलबाट ट्रान्सफर गरिदिए हुन्छ।

पैसा ट्रान्सफर गर्दा पनि निकै अर्थपूर्ण परिमाणमा दिइन्छ। जस्तो ५.२० युआन पठाउने चलन निकै लोकप्रिय छ। यसको अर्थ उच्चारणसँग सम्बन्धित छ। चिनियाँ उच्चारणमा पाँचलाई ‘ऊ’ भनिन्छ भने दुईलाई ‘आर’ र शून्यलाई ‘लिङ’ भनिन्छ। अब ‘ऊआरलिङ’ भन्दा ‘ओआइनी’ जस्तै सुनिन्छ। ‘ओआइनी’ भनेको म तिमीलाई माया गर्छु भन्ने हो। अहिले हुनेखानेले चाहिँ ५२० युआन पठाउँछन्।

वसन्त चाडबारे चीनका विभिन्न भूगोलमा थुप्रै लोककथाहरू प्रचलित छन्। यी कथाले वसन्त चाडको उत्पत्ति र विकास बताउँछन्। वसन्त चाडमा किन रातो रङ प्रयोग गरिन्छ, आतिशवाजी किन गरिन्छ, पारिवारिक भोज किन हुन्छ र किन यति धेरै लोकप्रिय छ भन्ने कुरा ती कथाले प्रस्ट्या्उँछन्।

यी कथाले चिनियाँ समाज, संस्कृति, चालचलन, परम्परा, अर्थतन्त्र र सभ्यतासँग नयाँ वर्ष कसरी जोडिएको छ भन्ने कुरा पनि बोक्छ।

सबभन्दा ठूलो चाड, सबभन्दा लामो बिदा (एक सातभन्दा बढी), सबभन्दा चलायमान अर्थतन्त्र (चिनियाँहरूको वार्षिक खर्चमा एक तिहाइ खर्च यही चाडमा हुन्छ), सबभन्दा ठूलो मानव आवतजावत (यस बेला ३ अर्बभन्दा बढी चिनियाँहरूको आवतजावत), पारिवारिक जमघट र शुभकामना आदानप्रदान — साँच्चै भवसागर जस्तै विशिष्ट र आकर्षक छ चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाड।

चिनियाँ नयाँ वर्षको अर्को रोचक सजावट ढोकामा टाँसिने चित्र हो।

रातो रङको चित्रको अर्थ ‘फु’ हो। चिनियाँ अक्षर ‘फु’ को अर्थ सुख, समृद्धि, भाग्य, शुभाशिष हुन्छ। अनि रोचक कुरा के छ भने यसलाई उल्टो अर्थात् वसन्त चाडमा ढोकामा टाँसिने फु
उल्टोलाई ‘ताओ’ भनिन्छ, जसको अर्थ ‘आइपुग्नु’ सँग मिल्छ। उल्टो फुलाई ‘फुताओ’ भनिन्छ र यसको अर्थ सुख अथवा भाग्य आइपुग्यो भन्ने लाग्छ। त्यही भएर सुल्टो अथवा उल्टो फु ढोकामा टाँस्ने गरिएको हो।

पहिले त यो फु सुल्टो मात्रै टाँसिन्थ्यो रे। उल्टो बनाउनुपर्ने कारणमा पनि रोचक कथा जोडिएको छ।

चौधौं शताब्दीमा मिङ राजवंशमा एक पटक वसन्तोत्सवको अघिल्लो दिन, सम्राट चु युआनचाङले आफ्नो राजधानी नानचिङका घरघरमा फु टाँस्न आदेश दिएका थिए।

एक जना निरक्षर व्यक्तिले आफ्नो घरको ढोकामा फुको पोस्टर उभिन्डो बनाएर टाँसेका रहेछन्। त्यो पोस्टर देखेर सम्राटलाई रिस उठ्यो। निरक्षर व्यक्तिले सजाय पाउने भयो भनेर सरकारी अधिकारीले चलाखीपूर्वक सम्राटलाई भनिदिए ‘ती व्यक्तिले जानीजानी यस्तो गरेका हुन्, किनभने उल्टो फुको मतलव सुख र समृद्धि आइपुग्यो भन्ने हो।

यो सुनेर सम्राट प्रसन्न भए र ती निरक्षर व्यक्तिलाई कुनै दण्ड दिएनन्। त्यसपछि फु उभिन्डो बनाएर पनि टाँस्ने चलन बसेको हो। उभिन्डो ‘फु’ को पोस्टर ढोकामा टाँस्दा माथिबाट तल फर्किएको अक्षरले ‘सुखले टाउकोमा ढोगेको’ अर्थ पनि लगाइन्छ।

चिनियाँ नयाँ वर्ष जति विशाल छ, यसभित्र लुकेका कथा र उपकथाहरू पनि सहस्र छन्। जति कथा खोतल्दै गयो, उति रोचक!