Canada Nepal News

जर्ज टाउन, क्यानडा । नवौं विश्व नेवाःदिबसको उपलक्षमा क्यानेडियन नेवाः गुठिले जर्ज टाउन स्थित तन्दूरी तीका लन्जमा बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ। सो कार्यक्रमको उदघाटन गुठिका संस्थापक अध्यक्ष प्रकाश लाल प्रधान, निबर्तमान अध्यक्ष उत्तम माकःजु तथा सल्लाहकार लक्ष्मण मुनि श्रेष्ठले संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गरे पश्चात क्यानडा, नेपाल तथा नेवाः राष्ट्रिय गान पनि बजाईएको थियो। उदघाटन पछि सबिना शाक्यले शुभकामना गीत तथा रबिन डंगोलले सिटारमा मंगल धून तथा प्रसिद्द नेवाः गीत “राजमति कुमति” धून प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद माननिय क्रिष्टिना डेर्कसनले सम्बोधन गर्दै नेपालको नेवाः सस्कृतिको संबर्द्दन, संरक्षण लगायत समूदाय केन्द्रित कार्यक्रम संचालन गर्दै आएकोमा गुठिको हार्दिक सराहना गर्दै यस्तो कार्यक्रमले क्यानडाको बहुसास्कृतिक ईन्द्रेणीको लागि सहयोग पुग्ने बिस्वास ब्यक्त गर्नु भयो। साथै उहाँले निकट भबिष्यमा आफू लगायत अरु साथीहरु सहित नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको पनि बताउनु भयो। कार्यक्रममा उहाँलाई नेवाः परम्परा अनुसार धिमे बाजा बजाएर तथा खादा अर्पण गरि स्वागत गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्नु हुदै गुठिका कार्यबाहक अध्यक्ष सुरेन्द्र लाल श्रेष्ठले गुठि द्वारा नेवाः संस्कृतिको बिकास, संरक्षण तथा अभ्यास लगायत नेवाः संस्कारहरु पनि सामूदायिक रुपमा गर्दै आएको बताउनु भयो।गुठिको प्रगतिको लागि सबैको सहयोगको अपेक्षा गर्नु भयो। कार्यक्रमको महत्व र नेवाः सस्कृति बारे प्रकाश पार्दै गुठिका महा सचिब डा. कृष्ण कायष्ठले बिस्वका बिभिन्न स्थानमा बसोबास गर्दै आई रहेका नेवाः समुदायलाई एकताबद्द गरि मौलिक नेवाः सस्कृतिको संरक्षण र सम्बर्द्दन गर्नु यो दिबसको उद्देश्य रहेको बताउनु भयो । बिस्वका बिभिन्न स्थानमा संचालन भैरहेको यो दिबसले आफ्नो संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने बिस्वास ब्यक्त गर्नु भयो।

कार्यक्रममा नेवाः सस्कृतिका बिबिध पक्ष बारे जानकारी गराउने क्रममा गुठिका निबर्तमान अध्यक्ष उत्तम माकःजुले नेवाः समूदायको बिभिन्न संस्कारमा प्रयोग हुने ” सिन्हःमू ज्वालान्हायकं” बारे प्रकाश पार्नु गर्दै यसले नेवाः सस्कृतिको सम्पन्नता मात्र प्रतिनिधित्व नगरि यसले जीबन दर्शण, लैंगिक समानता, अभिभाबकत्वको पनि प्रतिनिधित्व गर्दछ भन्नु भयो। यस्तो अद्वितिय संस्कृतिलाई जिबन्त राख्न नयाँ पुस्तालाई पुस्तान्तरण गर्नु आजको आबश्यकता भएको पनि उहाँले बताउनु भयो। सो प्रस्तुति पछि उत्तम माकःजुले नेवाः समूदायको सांगितिक बाद्य सामाग्री “नायखिं” क्यानडामा पहिलो पल्ट बजाएर सुनाउनु भयो भने सो प्रस्तुतिको लागि शिव कारन्जितले तिन्छु बजाएर र सास्कृतिक सचिब राजेन्द्र महर्जनले नृत्य गरि सघाउनु भयो।

कार्यक्रममा सबिना शाक्य, यशोदा श्रेष्ठ, गायत्री कायष्ठले नेवाः गीतहरुमा मनमोहक नृत्यहरु प्रस्तुत गर्नु भएको थियो भने प्रकाश लाल प्रधान, लक्ष्मण मुनि श्रेष्ठ, गीता पन्त, गोबिन्द घिमिरि, जलेन्द्र शाक्य, सबिना शाक्य, अमृत श्रेष्ठ, उत्तम माकःजु लगायतले नेवाः तथा नेपाली गीत प्रस्तुत गरि मनोरंजन प्रदान गरेका थिए। साथै सहभागिहरुकोलागि खुल्ला हाजिरि जवाफ पनि गरिएको थियो।

कार्यक्रमको अन्त्यमा कार्यक्रम संयोजक शिव कारन्जितले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्ण महानुभाबहरुलाई धन्यबाद ब्यक्त गर्नु हुन्दै भबिष्यमा यस्तै सहयोग रहि रहने बिस्वास गर्नु भयो। सोहि सन्दर्भमा नेपालमा आयोजना गरिएको नवौँ बिस्व नेवाः दिबसको कार्यक्रममा गुथिका अध्यक्ष बिमलमान श्रेष्ठले सहभागिता जनाउनु भएको थियो।