Canada Nepal News

विश्वका सर्वश्रेष्ठ विश्वविद्यालयको सूचीमा क्यानाडा शैक्षिक संस्थाहरु पनि परेका छन्। शीर्ष २० को सूचीमा यहाँका विश्वविद्यालयहरु पनि परेका हुन्।

क्यानाडाका उत्कृष्ट विश्वविद्यालयको नेतृत्व उक्त सूचीमा अल्बर्टा विश्वविद्यालयले गरेको छ।

‘टाइम्स हायर एजुकेशन’ ले २०२४ का लागि उत्कृष्ट विश्वविद्यालयको सूची बनाएको हो।

उक्त संस्थाले उत्कृष्ट विश्वविद्यालयहरुको सूची बनाउने क्रममा १२५ देशका २ हजार १५२ वटा विश्वविद्यालयहरुको अध्ययन र मूल्यांकन गरेको थियो।

त्यस क्रममा सम्बन्धित संस्थाको समग्र उपलब्धि, प्रभाव तथा संयुक्त राष्ट्र संघद्वारा स्थापित ‘मल्टिपल सस्टेनेबल डेभलपमेन्ट गोल्स’ (एसडीजी) का आधारमा मूल्यांकन गरिएको थियो।

संयुक्त राष्ट्र संघले तयार पारेका १७ वटा दिगो विकासका लक्ष्यका आधारमा शैक्षिक संस्थाहरुको श्रेणीकरण गरिएको थियो।

त्यसमा गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी र सरसफाइ, किफायती र स्वच्छ ऊर्जाका साथै दिगो सहर र समुदायहरुलाई आधार मानिएको जनाइएको छ।

यी समग्र मूल्यांकनका आधारमा विश्वको सबैभन्दा उत्कृष्ट विश्वविद्यालयका रुपमा अष्ट्रेलियाको बस्टर्न सिड्नी विश्वविद्यालय परेको छ। यो संस्था लगातार तेस्रो वर्ष सूचीको पहिलो स्थानमा रहन सफल भएको छ।

क्यानाडाको सन्दर्भमा अल्बर्टा विश्वविद्यालय उद्योग, नवीनता र पूर्वाधार, लक्ष्यहरुको साझेदारी जस्ता सूचकहरुमा उच्च अंक प्राप्त गरी सूचीको छैठौं स्थानमा परेको छ।

यसैगरी, क्वीन्स युनिभर्सिटी समग्रमा आठौं स्थानमा परेको छ। दिगो सहर र समुदायहरु जस्ता सूचकमा उच्च अंक यो संस्थाले उच्च अंक पाएको छ।

यस्तै, भिक्टोरिया विश्वविद्यालय पनि शीर्ष २० मा पर्न सफल भएको छ। समग्रमा भने यो संस्था १३औं स्थानमा छ।

बर्नाबीको साइमन फ्रेज युनिभर्सिटी पनि १७ औं स्थानमा परेको छ। क्युबेक सिटीको युनिभर्सिटी लाभल क्यानाडाको पाचौं उत्कृष्टमा परेको छ। यो संस्था शीर्ष २० को सूचीमा १९औं स्थानमा परेको छ।

यस्तै, वेस्टर्न युनिभर्सिटी २१औं, युनिभर्सिटी डे मन्ट्रियल २८औं र म्याकमास्टर युनिभर्सिटी ३०औं स्थानमा परेका छन्।

टाइम्स हायर एजुकेशनका अनुसार २०२४ मा विकासको खोजी गर्ने विश्वव्यापी १० वटा विश्वविद्यालयहरुको सूची यसप्रकार छ–

१) वेस्टर्न युनिभर्सिटी, अष्ट्रेलिया

२) युनिभार्सिटी अफ म्यानचेष्टर, युनाइटेड किङडम

३) युनिभर्सिटी अफ तास्मानिया, अष्ट्रेलिया

४) आलबर्ग युनिभर्सिटी, डेनमार्क

५) आरएमआइटी युनिभर्सिटी, अष्ट्रेलिया

६) युनिभर्सिटी अफ अल्बर्टा, क्यानाडा

७) युएनएसडब्लु सिड्नी, अष्ट्रेलिया

८) क्वीन्स युनिभार्सिटी, क्यानाडा

९) एरिजोना स्टेट युनिभर्सिटी (टेम्प), अमेरिका

१०) युनिभर्सिटी अफ एक्सेटर, युनाइटेड किङडम