Canada Nepal News

राजधानीको एयरपोर्ट गेट नजिकै प्रेसिडेन्ट होटल सञ्चालनका अन्तिम तयारी भएको छ । जसअनुसार सञ्चालनको लागि साइत् जुराइएको र केही सातामै औपचारिक रूपमा सन्चाननमा ल्याइने प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । उनका अनुसार होटलमा करिब ५ करोड लगानी रहेको छ । होटलले ग्राहकलाई सस्तोमा सेवा उपलब्ध गराउने बताइएको छ ।

यसैबीच गैरआवासीय नेपालीहरू र प्रेसिडेन्ट बिजनेस ग्रुपबिचको सहकार्यमा नेपालभर सो ग्रुपले योसहित १० वटा होटलसमेत खोल्न लागिएको समेत उनले बताए । भण्डारीले गैरआवासीय नेपालीले आफ्नो सीप र ज्ञानबाट नेपाललाई पुर्‍याउने महत्त्वपूर्ण योगदानहरूबारे प्रकाश पार्दै यस सहकार्यमा आफ्नो बलियो समर्थन रहेको बताए ।

उनले भने, ‘कूल १ अर्बको लगानीमा आगामी दुई वर्षभित्र नेपालभर १० वटा नयाँ होटल खोल्ने घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । यी होटलहरू काठमाडौं, पोखरा, चितवन, बुटवल, धनगढी, सुर्खेत, विराटनगर लगायतका प्रमुख सहरहरूमा बनाइनेछन् । गैरआवासीय नेपाली र प्रेसिडेन्ट बिजनेस ग्रुपबिचको यस प्रयासले नेपालको होटल उद्योगलाई माथि उठाउने छ ।’

यस परियोजनामा विभिन्न देशका एनआरएनहरूको विशेषज्ञता समेत परिचालन गरिने भण्डारीले बताए । नयाँ होटलले यात्रुका लागि विकल्पहरूको रोजाइ सुनिश्चित गर्ने विश्वास गरिएको छ। पर्यटकहरूले मानक सुविधाहरूसहित तीनतारे र चारतारे आवासहरूको सेवा प्राप्त गर्नेछन् । कोठाको शुल्क पनि बजारको प्रतिस्पर्धात्मकताका आधारमा चार हजार र पाँच हजारको बीचमा राख्ने तयारी गरिएको बताइएको छ ।

प्रेसिडेन्ट बिजनेस ग्रुप उत्कृष्टता र ग्राहक सन्तुष्टिका लागि १९ वर्षदेखि प्रसिद्ध छ । एनआरएनका लगानीकर्ताको तर्फबाट सोम सापकोटाले प्रेसिडेन्ट बिजनेस ग्रुपसँग सहकार्य गर्न र यस साझेदारीमार्फत नेपालको आतिथ्य क्षेत्रको वृद्धि, विकासमा योगदान पुर्याउन पाउँदा खुसी लागेको बताए ।