×

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाबारे प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गरेको छ । तर, काउन्सिलको विज्ञप्तिमा श्रेष्ठको पक्राउलाई लिएर स्पष्ट समर्थन वा विरोधको धारणा भने सार्वजनिक गरिएको छैन ।

काउन्सिलले श्रेष्ठ पक्राउ परेको, उनको निजी निवासमा खानतलासी गरिएको तथा त्यसपछि सञ्चारमाध्यमको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस काउन्सिलका अनुसार श्रेष्ठलाई साउन २७ गते राति पक्राउ गरी उनको निवासमा खानतलासी गरिएको थियो । त्यसको भोलिपल्ट बिहान सञ्चारमाध्यमको कार्यालयमा समेत प्रहरी पुगेको थियो । कार्यालयमा प्रहरी प्रवेश गरी सामग्री जफत गरिएको विषयलाई काउन्सिलले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यद्यपि, घटनाको प्रकृति र पत्रकार पक्राउको विषयमा काउन्सिलले प्रत्यक्ष रूपमा प्रश्न उठाउनुको सट्टा पत्रकारिता क्षेत्रको आचारसंहिता र प्रेस स्वतन्त्रताको प्रयोगबारे ध्यानाकर्षण गराएको छ ।

काउन्सिलले पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत मर्यादा, आचारसंहिता र जिम्मेवारीप्रति सचेत हुनुपर्ने जनाएको छ । प्रेस स्वतन्त्रताको प्रयोगका क्रममा स्वच्छन्दता आउन नदिन तथा सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारितालाई प्राथमिकता दिनुपर्ने काउन्सिलले उल्लेख गरेको हो ।

विज्ञप्तिमा सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित सामग्रीप्रति असन्तुष्टि भए कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा जोड दिइएको छ । कुनै समाचार वा सामग्रीप्रति चित्त नबुझे सम्बन्धित पक्षले प्रेस काउन्सिलमा उजुरी गर्न सक्ने काउन्सिलले स्मरण गराएको छ ।

काउन्सिलले सञ्चारमाध्यम र पत्रकारिताको नियमन तथा आचारसंहिताको कार्यान्वयन आफ्नो जिम्मेवारी भएको उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ ।

यसैबीच, श्रेष्ठ पक्राउ तथा सञ्चारमाध्यमको कार्यालयमा प्रहरी प्रवेश गरी सामग्री नियन्त्रणमा लिएको घटनालाई लिएर पत्रकारिता क्षेत्रबाट प्रश्न उठिरहेका बेला काउन्सिलको विज्ञप्तिले घटनाबारे स्पष्ट धारणा नदिएको भन्दै थप बहस हुन सक्ने देखिएको छ ।