Canada Nepal News

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपालीहरूलाई कमाइको निश्चित अंश नेपालमा लगानी गर्न आह्वान गरेका छन्। उनले लिभरपुल नेपाली समाज, यूकेको आयोजनामा शनिबार लिभरपुलमा सम्पन्न नागरिकता, सम्पत्ति, भूपू गोर्खाको अधिकार र लगानीसम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उक्त आग्रह गरेका हुन् ।

डा. केसीले भने, ‘नेपालसँगको सम्बन्ध निरन्तरताका लागि नेपालमा लगानी गर्न जरुरी छ। विदेशमा कमाएको १० प्रतिशत मात्र नेपालमा लगानी गर्न सके, देश समृद्धिको बाटोमा लाग्नेछ र दोस्रो पुस्तासँगको सम्बन्ध पनि कायम रहनेछ। त्यसैले, नेपालमा लगानी गरौँ।’ उनले नेपालमा लगानीसँगै च्यारिटीका कार्यहरू गर्न पनि अनुरोध गरे। डा. केसीका अनुसार, गैरआवासीय नेपाली संघको पहलकै कारणले नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरेको छ, र यो नागरिकताका कार्यान्वयनमा भएका कठिनाइहरू छिट्टै हट्ने विश्वास व्यक्त गरे।

गैरआवासीय नागरिकता लिएपछि नेपालमा आफ्नो सम्पत्ति राख्न कुनै लिमिटेसन नहुने र एनआरएन नागरिकताले सम्पत्तिको पूर्ण सुरक्षा गर्ने उनले प्रस्ट्याए। कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले पनि गैरआवासीय नेपाली अभियानमा जोडिन आग्रह गरे। समाजका अध्यक्ष नेत्र खरेलको सभापतित्वमा भएको कार्यक्रममा संघकी उपाध्यक्ष रोजिना प्रधान राई लगायतका व्यक्तिहरूले आ-आफ्ना भनाइहरू राखेका थिए।