टोरण्टो। क्यानडा र नेपालबीच कूटनीतिक सम्बन्ध कायम भएको ६१ औँ वार्षिक दिवसका अवसरमा आज आइतबार क्यानडास्थित ब्राम्टनमा छलफल तथा गोष्ठी सम्पन्न गरिएको छ ।
क्यानडा र नेपाल दुई देशबीचको कुतनीतिक सम्बन्धका बारेमा चर्चा गर्न “कन्सर्न नेपाल क्यानडा”ले कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाको तर्फबाट कार्यक्रमको संयोजन गोविन्द शिवाकोटीले गर्नुभएको थियो ।
वार्षिक दिवसका अवसरमा आयोजक संस्थाका फाउण्डर अञ्जनीराज भट्टराई र शेरडियन कलेजका प्रोफेसर तथा अर्थशास्त्री ईशान पौडेलले दुई देशबीचका कूटनीतिक गतिविधि, वाणिज्य, पर्यटन, समानता, विविधता, ऐतिहासिक महत्व र सम्बन्धका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रमको मुख्य वक्ताको रुपमा क्यानडास्थित नेपालका राजदूत भरतराज पौडेल र ब्राम्टन साउथकी सांसद एवं क्यानडा नेपाल संसदीय मैत्री समूहकी सदस्य सोनिया सिद्दु रहनुभएको थियो । दुवै वक्ताले नेपाली समुदायले क्यानडामा रहेर पु¥याएका योगदान र गरिरहेका सकारात्मक गतिविधिका बारेमा खुलेर प्रशंसा गर्नुभएको थियो ।
वार्षिक दिवसका अवसरमा एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटा, पत्रकार अनिल थापा, इन्दिरा रिजाल लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । अधिकांश वक्ताले क्यानडा सरकारको तर्फबाट नेपालमा पनि भिसा कन्सुलर अफिस स्थापनाका लागि जोड दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सञ्चालन सिए सृष्टि श्रेष्ठले गर्नुभएको थियो ।

क्यानाडा नेपाल










