Canada Nepal News

शिशिर सिंखडा, टोरण्टो । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती विविध कार्यक्रम गरि सम्पन्न गरिएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहको ३ सय ३औं जन्म जयन्तीको अबसरमा क्यानडाको मिसिसागामा आज शनिबार आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले आज हामी गोर्खाली र नेपाली भएर बिश्वसामु शिर ठाडो पारेर हिड्न पाउनु गर्वको विषय भएको बताउनु भयो । नेपाल राष्ट्रको एकीकरण र सर्वभौम सम्पन्न नेपाल बनाउन र सबै नेपालीलाई एकताको मालामा गासेर राख्ने राजा पृथ्वीनारायण शाह आजको राजनिती र पार्टी भन्दा माथि रहनु भएको भन्दै उहाँलाई एउटा राजाको रूपमा मात्र नभै नेपाल राष्ट्रको परिकल्पनाकारको रूपमा सबैले स्विकार्नु पर्ने कार्यक्रमका वक्ताहरूले बताउनु भएको थियोे ।
प्रवासी नेपाली एकता समाज क्यानडाका अध्यक्ष हिराकाजी याङ्डोको अध्यक्षतामा भएको कार्यक्रममा एनसीएनसीका निवर्तमान अध्यक्ष नरबहादुर क्षेत्री, लायन्स क्लब इन्टरनेशनल ३२५ बिटु नेपाल बर्ष २०१६/१७ का डिस्ट्रिक गभर्नर घनश्याम भट्टराई, समाजसेवी कृष्णप्रसाद पोख्रेल, नेपाल हाउसका सचिब दिनेश बिष्ट्, व्यावसायी तथा संचारकर्मी अनिल थापा लगायतले राजा पृथ्वीनारायण शाहको योगदान र नेपाल एकीकरणको ईतिहासको बारेमा आ-आफ्ना भनाईहरु राख्नुभएको थियोे ।

सो अबसरमा सहभागीहरुले राजा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण समेत गर्नुभएको थियो ।

क्यानडामा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती कार्यक्रम
https://www.facebook.com/share/v/12DXY8UUrWq/

पृथ्वीनारायण शाहको छोटो जिवनी

विक्रम संवत् १७७९ मा जन्मिनु भएका राजा शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नुभएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । उहाले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् ।

भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिनु भएको थियों । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहा सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय प्राप्त गर्नुभएको थियो। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गर्नुभएको थियो। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनु भएको थियो।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका राजा पृथ्वीनारायण शाहको सम्झनामा आज नेपाल तथा विभिन्न मुलुकमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाएका छन। यस अवसरमा काठमाडौं स्थित सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम समेत गरिएको थियो।प्रत्येक वर्ष पुस २७ गते  विशेष कार्यक्रम आयोजना गरिदै आएको छ।

पछिल्ला वर्षमा उहाँको योगदानको कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ ।

उहाको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो ।