Canada Nepal News

वासिङटन डिसी । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न ह्वाइट हाउस पुगेका छन्। ह्वाइट हाउसमा दुवै नेताले भेट गरेर धेरै विषयमा कुराकानी गरेका छन्। ट्रम्पले उनले क्यानडासँग मित्रता चाहेको बताएका छन्। उनले मिडियालाई अमरिकाले जस्तो अवस्था आए पनि क्यानडासँग मित्रता कायम राख्ने बताएका छन्।

ट्रम्पले क्यानेडियाली जनताप्रति आफ्नो ठूलो सम्मान रहेको पनि उल्लेख गरे। क्यानडालाई संयुक्त राज्य अमेरिकाको ५१ औं राज्य बनाउने आफ्नो भनाइमा उनी यसपटक पनि अडिग देखिन्थे।

कार्नीले ट्रम्पको जवाफ दिंदै केही स्थानहरू बिक्रीका लागि नहुने बताएका थिए।

क्यानडाका प्रधानमन्त्री कार्नीले भने, ‘तपाईंलाई रियलस्टेटको बारेमा थाहा छ। केही ठाउँहरू कहिल्यै बिक्रीको लागि हुँदैनन्। जसरी ह्वाइट हाउस र बकिङ्घम प्यालेस बिक्रीमा छैन त्यसरी नै क्यानडा पनि बिक्रीमा छैन र कहिल्यै हुनेछैन।’

यसको जवाफमा ट्रम्पले जिस्किंदै भने, ‘कहिल्यै पनि हुनेछैन नभन्नुहोस् न।’

यसपछि कार्नीले मुस्कुराउँदै भने, ‘कहिल्यै पनि हुँदैन।’