टोरण्टो । गैर-आवासीय नेपाली संघ (NRNA) क्यानडाद्वारा आयोजित तथा विभिन्न सामाजिक संघ-संस्थाहरूको सहयोग एवं सहकार्यमा सञ्चालन गरिएको ‘Delight of Sharing Together’ भव्यरूपमा सम्पन्न भएको छ । फुड ड्राइभ कार्यक्रममा ६० जना व्यक्ति लाभान्वित हुनुभएको छ। सो कार्यक्रम एभरेस्ट तेक्वान्दो ब्राम्पटनमा आयोजना गरिएको थियो। जीटीए भित्रका २८ संघ-संस्था तथा व्यक्तित्वहरूले कार्यक्रममा स्पोन्सरमार्फत सहयोग गर्नुभएको जानकारी कार्यक्रम संयोजक प्रजापति सापकोटाले कार्यक्रममा जनाउनुभयो ।
खाद्यान्न सामग्री वितरण गर्नु अघि एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्यानडाकी संघीय सांसद् सोनिया सिधु तथा अमनदीप सिधु अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने एभरेस्ट ब्रोकरेजका प्रमुख मदन केसीले कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएको थियो। साथै जीटीए अन्तर्गतका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको पनि अतिथिका रूपमा उपस्थिति रहेको थियो।
अनलाइनमार्फत ४० जनाले दर्ता गर्नुभएकोमा २७ जना खाद्यान्न लिन उपस्थित हुनुभएको थियो भने अन्य सहभागीहरू कार्यक्रम स्थलमै उपस्थित भई लाभान्वित हुनुभएको थियो।
यस कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्नुहुने सम्पूर्ण संघ-संस्थाका प्रतिनिधिहरू तथा सहयोगी महानुभावहरूलाई गैर आवासीय नेपाली संघ क्यानडा हृदयदेखि नै धन्यवाद प्रकट गरेको छ ।
आगामी दिनहरूमा पनि संघद्वारा सञ्चालन गरिने मानव सेवाका कार्यहरूमा सबैको निरन्तर सहयोगको आशा गरिएको एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटाले क्यानडा नेपाल न्युजलाई बताउनु भयो ।

क्यानाडा नेपाल










