टोरण्टो । नेपाली नर्स एशोसिएशन क्यानडा (एन.एन.ए.एस) ले क्यानडामा रहेका नेपाली नर्सहरूलाई सहयोग गर्ने प्रतिबद्धता अन्तर्गत अर्को उपलब्धि हासिल गर्दै हिजो मिसिसागामा दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
एशोसिएसनका अध्यक्ष लिलानाथ पाण्डेको अध्यक्षतामा भएको बार्षिक साधारण सभाको सञ्चालन सचिव चन्द्रबिन्दु काफ्लेले गर्नु भएको थियो । वार्षिक साधारण सभाको मुख्य आकर्षणमा संस्थागत प्रगति विवरण, प्रतिवेदन प्रस्तुतिकरण तथा परामर्शदातृत्व र कार्यस्थलमा आत्मसन्तुष्टि सम्बन्धी महत्वपूर्ण छलफलहरू रहेका थिए ।

साधारणसभाले आगामी दुई बर्षका लागि सर्वसम्मत रुपमा एशोसिएशनको अध्यक्षमा पार्वती पाण्डेयलाई निर्वाचित गरेको थियो । त्यसैगरी उपाध्यक्ष सुशीला रसाइली, महासचिव श्रृष्टि पराजुली मरासिनी, सचिव अच्युत काफ्ले र कोषाध्यक्षमा अनिशा सडौला बगाले निर्वाचित हुनु भएको छ । कार्यकारिणी सदस्यहरुमा स्मिता उपाध्याय, सन्तोष बराल, राधिका अर्याल, दुर्गा देउजा, उषा पन्त, श्रृजना लम्साल, एकराज प्रसाई, विष्णुदेवी कंडेल, अञ्जना बराल, देवी खरेल निउरे र कृतिका पौडेल निर्वाचित हुनु भएको थियो ।

नयाँ नेतृत्वको चयनसँगै एशोसिएशनले स्वास्थ्य प्रणालीमा नेपाली नर्सहरूको समायोजनमा सहयोग पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ । व्यवसायिक विकासका लागि जानकारी आदानप्रदान, स्वास्थ्य सचेतना कार्यक्रमहरू र नेपाली समुदायको आवश्यकतालाई सम्बोधन गर्ने पहलकदमीहरू विस्तार गर्ने योजना बनाएको छ । साथै आगामी दिनमा नर्सिङ पेशा माँझ सहकार्यको भावना विकास गर्ने, प्रभावकारी परियोजनाहरू अगाडि बढाउने र नर्सहरू तथा उनीहरूले सेवा पुर्याउने समुदाय दुवैका लागि फाइदाजनक कार्यहरूमा केन्द्रित रहने प्रतिबद्धता गरेको छ ।
क्यानाडा नेपाल










